काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालन, ओपिडीमा शुल्क नलाग्ने

काठमाडौ । केही समयदेखि स्थगनमा रहेको घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले एक विशेष समारोहबीच यसको औपचारिक उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले अस्पतालको पुनः सञ्चालनलाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा एक सकारात्मक र स्वागतयोग्य कदमको रूपमा उल्लेख गरे। उनले भने, “जनउत्तरदायी, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रवर्द्धनमा बागमती स्वास्थ्य मन्त्रालयको पूर्ण साथ रहनेछ।”

अस्पताल पुनः सञ्चालनको अवसरमा प्रारम्भिक चरणमा सर्वसाधारणका लागि निःशुल्क ओपीडी सेवा प्रदान गरिने निर्णय गरिएको छ। यो सेवा अर्को सूचना जारी नहुञ्जेलसम्म निःशुल्क रूपमा निरन्तर उपलब्ध गराइने बताइएको छ।

साथै, अन्य सेवा क्षेत्रमा समेत प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था गरिएको छ।

विशेषज्ञ सेवाअन्तर्गत जेनेरल मेडिसिन, सर्जरी, स्त्रीरोग तथा प्रसूति, हाडजोर्नी, बालरोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, नाक-कान-घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र तथा छाती रोगसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क रूपमा प्रदान गरिनेछ।

२४ घण्टा सञ्चालनमा रहने आपतकालीन सेवा, एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स-रे तथा फिजियोथेरापी सेवामा समेत छुट दिइने अस्पताल प्रशासनले जनाएको छ। साथै, अस्पताल परिसरमै फार्मेसी सेवा पनि उपलब्ध गराइएको छ।

अस्पतालका अध्यक्ष बसुरुद्दिन अन्सारीले उद्घाटन समारोहमा बोल्दै भने, “यो हाम्रो लागि हर्षको र ऐतिहासिक दिन हो। स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा हाम्रो प्रतिबद्धता बलियो बनाउँदै, पुनः सञ्चालनमार्फत नागरिकलाई गुणस्तरीय सेवा दिन हामी समर्पित छौं।”

उनले नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको सफल अनुभवकै निरन्तरताका रूपमा काठमाडौं नेशनल मेडिकल कलेजको पुनः सञ्चालन गरिएको जानकारी गराउँदै चिकित्सा शिक्षामा समेत उच्च मापदण्ड स्थापना गर्ने लक्ष्य रहेको बताए।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत जहाँगिर अन्सारीले अस्पताल शहरको केन्द्रमा रहेकाले सुलभ, सस्तो र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताए। “हामी समुदायप्रति उत्तरदायी रहन चाहन्छौं। पुनः सञ्चालनको अवसरमा निःशुल्क सेवा सुरु गर्नु हाम्रो उत्तरदायित्व र प्रतिबद्धताको अभिव्यक्ति हो,” उनले भने।

अस्पतालका व्यवस्थापक दिलिप साहका अनुसार पुनः सञ्चालनमार्फत नागरिकहरूको विश्वास जित्दै स्वास्थ्य र चिकित्सा शिक्षामा उत्तरदायित्व पूरा गर्ने अवसरका रूपमा यसलाई लिइएको छ।