
काठमाडौ । नेपाली कांग्रेसकी सांसद एवं राष्ट्रिय सभा अन्तर्गत ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’ की सभापति कमलादेवी पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाअभियोग लगाउन माग गरेकी छिन्।
राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले वाइडबडी विमान खरिद प्रकरणमा अख्तियारको निर्णय प्रक्रियामा पूर्वसचिव राई संलग्न भए पनि उनीमाथि मुद्दा नचलाई चयनमुखी व्यवहार देखाइएप्रति आपत्ति जनाइन्।
विशेष अदालतले समेत यसबारे प्रश्न उठाएको सन्दर्भ उल्लेख गर्दै उनले भनिन्, “यदि प्रमुख आयुक्त स्वयं स्पष्ट रुपमा बोल्न सक्दैनन् भने सरकारको जवाफदेही आवश्यक छ। यदि कसैले पनि जवाफ दिएन भने अन्ततः संसदले बोल्नैपर्छ — उनीमाथि महाअभियोग लगाइनुपर्छ।”
सांसद पन्तले मुलुकमा सुशासनको गम्भीर अभाव रहेको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता झन् झन् गहिरिँदै गएकोप्रति चिन्ता व्यक्त गरिन्।
उनको भनाइमा, राज्यका मुख्य निकायहरूप्रति जनताको विश्वास खस्कँदो छ।
“राजनीतिक दलहरू आपसमा शंकाको नजरले हेर्न थालेका छन्। सेवाप्रदायक र सेवाग्राहीबीच पनि विश्वासको संकट छ,” उनले भनिन्, “सेवाग्राहीले सहज रुपमा सेवा पाउन सकेका छैनन्। विश्वास गुमाउँदै गएका छन्।”







