सुन्दरीजलमा बाढीले फसेका पाँच जनाको सेनाद्वारा उद्धार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजलको सुन्दरीमाई मन्दिर नजिकको खोलामा नुहाउने क्रममा बाढीले फसेका पाँच जनाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

आज बिहान करिब २:३० बजे एकासी खोलाको बहाव अचानक बढेपछि खोलाको बिच भागमा ४ जना भारतीय नागरिक र १ जना नेपाली फसेका थिए। सूचना प्राप्त भएपछि श्री चन्दननाथ गणबाट खटिएको नेपाली सेना टोलीले अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाहरूको सहयोगमा उनीहरूलाई सकुशल उद्धार गरेको हो।

उद्धार गरिएका सबै व्यक्तिहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।