काठमाडौं — राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
शर्माको नाम भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिबाट सिफारिस गरिएको थियो। उक्त समितिमा पूर्वसचिव सुमन शर्मा, विज्ञसदस्य गुणनिधि भुसाल र लोक सेवा आयोगका प्रतिनिधि सदस्य थिए। समितिले डा. शर्मा सहित नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल र मन्त्रालयका पूर्वसचिव अर्जुनप्रसाद पोखरेलको नाम सिफारिस गरेको थियो। मूल्यांकनमा शर्मा सबैभन्दा अगाडि रहेकाले उनलाई नियुक्त गरिएको हो।
शर्मा यसअघि लुम्बिनी विशिष्टिकृत सहकारी संघका अध्यक्ष थिए। त्यसभन्दा अघि उनी सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था अध्यक्षको जिम्मेवारीमा पनि थिए। सहकारी क्षेत्रमै विद्यावारिधि गरेका उनी एक अनुभवी सहकारी अभियन्ता मानिन्छन्।
सहकारी ऐन, २०७४ को दफा १०३ (ङ) अनुसार प्राधिकरणको अध्यक्ष नियुक्त गर्न गठित समितिले आवेदकहरूको कार्ययोजना, प्रस्तुति, अनुभव र अन्तर्वार्ताका आधारमा योग्यता निर्धारण गरेको थियो। ऐनअनुसार अध्यक्ष बन्ने व्यक्तिमा कम्तीमा १५ वर्षको सम्बन्धित क्षेत्रमा अनुभव वा प्रथम श्रेणी सरहको पदमा काम गरेको योग्यता हुनुपर्ने व्यवस्था छ।







