४ जिपिएसहित एसईई उत्तीर्ण निशेषलाई पुरस्कार र सम्मान

भक्तपुर । भक्तपुरको लौहकिंथलीस्थित विद्यालय ॐ ज्ञान मन्दिरले ४ जिपिएसहित एसईई परीक्षा उत्तीर्ण गरेका निशेष पौड्याललाई पुरस्कृत गरेको छ ।

विद्यालय प्राङ्गणमा शनिबार आयोजित विशेष सम्मान समारोहका बीच निशेषलाई रु. १० हजार राशीसहितको स्व. रामप्रसाद सुवेदी स्मृति पुरस्कारले पुरस्कृत एवं सम्मानित गरिएको हो ।

सोही सम्मान समारोहमा शैक्षिकसत्र २०८१ को एसईई परीक्षामा A+ ग्रेड ल्याएका अन्य १९ विद्यार्थीलाई पनि सम्मान गरिएको शिक्षक रामगोपाल आशुतोषले जनाएका छन् ।

उनीहरूलाई प्रमुख अतिथि एवम् हिसानका पूर्वअध्यक्ष रहेका सी बर्ड कलेज र ॐ ज्ञान मन्दिर स्कुलका पनि अध्यक्ष शिवकृष्ण श्रेष्ठ, विद्यालय व्यस्थापन समितिकी अध्यक्ष महेश्वरी सुवेदी, नेपाल पत्रकार महासंघ, भक्तपुर जिल्ला अध्यक्ष सुन्दर शिल्पकार र सोही विद्यालयका प्रिन्सिपल सुवास थापाले सम्मान गरेका थिए ।

प्रमुख अतिथि शिवकृष्ण श्रेष्ठले समारोहलाई सम्बोधन गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।

उनले कक्षा १२ पछि विदेशमा पढ्न पठाउने क्रमउपक्रम नरोकिए देश युवाविहीन हुने चिन्ता ब्यक्त गर्दै नेपालमा रोजगारमुखी शिक्षाको विकास भइसकेकाले अब सबैलाई आफ्नै देशमा अध्ययन गर्न सुझाव दिए ।

समारोहलाई सम्बोधन गर्दै ४ जिपिए ल्याएर विद्यालयको सर्बोकृष्ट विद्यार्थी बनेका निशेष पौडेलले निरन्तर अध्ययन, गुरुप्रतिको सकारात्मकता, आशावादी चिन्तन र अध्ययनप्रतिको लगाव नै सफल नतिजाको रहस्य रहेको बताए।

त्यस्तै अभिभावक प्रतिनिधि सुरेश बस्नेत, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार र विद्यालयका प्रिन्सिपल सुवास थापाले ॐ ज्ञान मन्दिरको शैक्षिक गतिविधि र उपलब्धिप्रति सन्तोष व्यक्त गर्दै यो उपलब्धि शिक्षकहरुकै कारण सम्भव भएको बताए ।

समारोहमा विविध मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरिएका थिए ।