पुरस्कार पाउनुपर्नेमा सजाय पाएको भन्दै भावुक स्टाटस लेखेर ३४ वर्षिय डा श्रेष्ठ सम्पर्कविहीन

अपडेट : भावुक स्टाटस लेखेर सम्पर्कविहीन भएका डा केशव श्रेष्ठ भेटिएका बताइएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले तारकेश्वर नगरपालिका–३ बाट उद्धार गरेको बताइएको छ ।  

काठमाडौ । रामेछापस्थित बागमती प्रदेश सरकार मातहतको प्रादेशिक अस्पताल रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रहीसकेका डा. केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएका छन् । फेसबुकमा आत्मदुख र पीडाभाव झल्किने स्टाटस लेखेर उनी अचानक बेपत्ता भएपछि चासो र चिन्ताको माहोल बनेको छ।

बिहान करिब साढे ९ बजे फेसबुकमा लेखिएको स्टाटसमा उनले आफू निर्दोष हुँदाहुँदै हेटौंडा सरुवा गरिएको, हेटौंडा अस्पतालमा सरुवा गरिएको भनिएपनि मन्त्रालयमा बिना काम हाजिर गराइएको, झुटा आरोप लगाइएको र अन्ततः “गल्ती बिनाको सजाय” दिएको भन्दै दु:ख ब्यक्त गरेका छन् ।

असत्यको जित भएको मुक्दर्शक भएर बस्न पनि मन लागेको र जीवन देखि हार खाएको पीडा व्यक्त गर्दै उनी सबैसंग बिदा मागेर बेपत्ता बनेका हुन् ।

काठमाडौ सुकेधारा बस्दै आएका उनी बेपत्ता भएको खबर परिवारले प्रहरीलाई गरेको छ। महानगरीय प्रहरी बृत्त गौशालाले डा श्रेष्ठको खोजतलास गर्न सबैतिर पत्रचार गरिसकिएको र प्रहरी खोजतलासमा तैनाथ रहेको जनाएको छ ।

३४ वर्षिय डा श्रेष्ठ बिबाहित हुन् । उनको एक छोरी पनि छन । आफूले कार्यालय प्रमुख भएर रामेछाप अस्पताललाई राम्रो बनाएको तर, आफूलाई अन्याय भएको उनले स्टाटसमा उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा उनको भावुक स्टाटसले मानिसहरु भावविह्वल भएका छन् ।

स्वास्थ्य प्रणालीप्रति गहिरो असन्तोष

डा. श्रेष्ठले आफ्नो सरुवालाई नियोजित योजनाको परिणाम बताउँदै लेखेका छन्, “डा. गगन अधिकारीले रामेछाप अस्पतालबाट सरुवा भएर जाँदा, मलाई षड्यन्त्रपूर्वक फसाउने प्रयास गरे । त्यही षड्यन्त्रमा डाक्टर र नर्सहरू प्रयोग भए ।”

उनी अझ अगाडि लेख्छन्, “केदार कार्कीले आफैंले भनेका मान्छे राख्न पर्ने भन्दै दबाब दिए । उनले भनेको नमन्दा आफूलाई प्रतिशोध स्वरूप भनेरै सरुवा गरिएको उनले खुलासा गरेका छन् ।

सुनुवाइ नभएको गुनासो

आफ्नो कुरा राख्न खोज्दा न स्वास्थ्य मन्त्रालयका मन्त्रीले, न सचिवले सुनेको भन्दै उनले निराशा व्यक्त गरेका छन्। “मैले न्याय खोजेँ, तर कतैबाट पनि सुनुवाइ भएन,” स्टाटसमा उल्लेख छ।

यद्यपि स्वास्थ्य सचिवले आफूहरू बजेटमा केन्द्रीत हुँदा विषय गम्भीर बनेको हुनसक्ने भन्दै उनले आवेशमा अप्रिय निर्णय नलिन डा श्रेष्ठलाई अनुरोध गरेकी छन् । 

बेपत्ता भएपछि अनुसन्धान सुरू

फेसबुक स्टाटस लेखेपछि उनी सम्पर्कविहीन बनेका छन्। हालसम्म उनको अवस्थाबारे पुष्टि भएको छैन। प्रहरी प्रशासन र परिवारजनले खोजी सुरू गरेका छन्।

डाक्टरहरू पनि सुरक्षित छैनन्?

डा. श्रेष्ठको कथनले स्वास्थ्य क्षेत्रमा कार्यरत पेशेवरहरू कसरी मानसिक दबाब र राजनीतिक चलखेलको सिकार बन्न सक्छन् भन्ने गम्भीर प्रश्न उठाएको छ।

एक जना चिकित्सा अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, “यदि नेतृत्व तहमै पुगिसकेको चिकित्सकहरूलाई नै यो हालतमा पुर्‍याइन्छ भने स्वास्थ्य प्रणालीको नैतिक धरातल कता जाँदैछ?”

अपडेट : भावुक स्टाटस लेखेर सम्पर्कविहीन भएका डा केशव श्रेष्ठ भेटिएका बताइएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले तारकेश्वर नगरपालिका–३ बाट उद्धार गरेको बताइएको छ । 

 (डा श्रेष्ठ भेटिएपछि उनको फेसबुक स्टाटस हटाइएको छ । )