अनुसन्धान र अभियोजन प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रहरी अनुसन्धानकर्ता र सरकारी वकिलबीचको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा ओलीले अभियोजन र प्रमाणका तथ्यहरू यथार्थ र स्पष्ट हुने गरी अनुसन्धान र अभियोजन हुनुपर्ने बताए।

उनले अन्याय रोक्न र सामाजिक सुप्रबन्ध कायम गर्न कानुनको निर्माण तथा प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि स्रोत, साधन र इमानदार जनशक्तिको खाँचो रहेको बताए। सरकारले आवश्यक सुविधा र स्रोत उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रधानमन्त्रीका अनुसार अपराधीले प्रविधिको दुरुपयोग गरी अपराध लुकाउने प्रयास गर्ने भएकाले प्रहरी स्रोतसाधन र प्रविधिले सुसज्जित हुन आवश्यक छ। त्रुटीरहित अनुसन्धानले न्याय निरुपणमा मार्गदर्शन गर्ने पनि उनले स्पष्ट पारे।

सम्मेलनमा गृहमन्त्री रमेश लेखक, महान्यायाधिवक्ता रमेश बडाललगायतको सहभागिता थियो। प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजना गरिएको दुई दिने सम्मेलनले निष्कर्षसहित घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ।