९० वर्षीय वृद्धले रड प्रहार गर्दा गयो श्रीमतीको ज्यान

नवलपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिका–३ आम्बासमा ९० वर्षीय वृद्धले आफ्नी ७६ वर्षीया श्रीमतीको रड प्रहार गरी हत्या गरेका छन्।

प्रहरीका अनुसार स्थानीय दिलबहादुर थापाले गएराति आफ्नी श्रीमती जमुना थापामाथि टाउकोमा रड प्रहार गरेका थिए, जसका कारण घटनास्थलमै जमुनाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले घटनाको पुष्टि गर्दै आरोपी थापाले आफ्नै अपराध स्वीकार गरिसकेको जानकारी दिएका छन्। “उनी प्रहरी नियन्त्रणमा छन्, घटनाबारे विस्तृत अनुसन्धान जारी छ,” ढकालले भने।

हत्या भएको जानकारी मृतकका छोरा चित्रबहादुर थापाले प्रहरीलाई दिएका थिए। घटनापछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान थालेको छ।