प्रेस स्वतन्त्रता कुनै निकायको आदेशद्वारा सीमित गर्न मिल्दैन- पत्रकार महासंघ

काठमाडौं । जिल्ला अदालत काठमाडौँले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा दिएको अल्पकालीन अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको रिट निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौँका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलवार अप्रमाणित तथा तथ्यहीन समाचार प्रकाशन नगर्नु र प्रकाशित समाचारहरू हटाउन सम्बन्धित सञ्चारमाध्यमहरूलाई आदेश दिएको थियो।

अदालतको आदेशअनुसार, यस्तो समाचारले निवेदकलाई अपूरणीय क्षति पु¥याउने सम्भावनाका साथै सुविधा सन्तुलनको दृष्टिकोणबाट पनि गम्भीर असर पर्ने ठहर गरिएको छ।

महासंघले भने प्रेस स्वतन्त्रताको मर्म र संवैधानिक व्यवस्थाविपरीत अदालतको आदेश आएको भन्दै आपत्ति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचारप्रति असन्तुष्टि भएमा त्यसको अध्ययन, नियमन र कारबाही प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारभित्र पर्छ।”

विज्ञप्तिमा थप भनिएको छ, “प्रेस स्वतन्त्रता नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार हो, जुन कुनै निकायको आदेशद्वारा सीमित गर्न मिल्दैन।”

महासंघले उक्त आदेशप्रति पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै, अन्यथा अदालती प्रक्रिया तथा अन्य वैधानिक माध्यममार्फत् प्रतिकार गर्न बाध्य हुने चेतावनी दिएको छ।

त्यस्तै, महासंघले सञ्चारमाध्यमहरूलाई पनि पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आह्वान गर्दै, प्रकाशित सामग्रीको सत्यता पुष्टि गर्ने दायित्व सम्बन्धित माध्यमकै हुने स्पष्ट पारेको छ।