सिंहदरवार बोलाएर सञ्चारकर्मीलाई दिइयो जीवन विज्ञानको मूलमन्त्र

काठमाडौ । “यदि प्रत्येक व्यक्तिले दिनमा १५ मिनेट योगाभ्यास गर्छ भने, सरदर आयुमा १४ वर्ष थपिन सक्छ,” जीवन विज्ञान प्रतिष्ठानका संस्थापक गुरु एलपी भानु शर्माले भने ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानद्वारा आयोजित ‘योग प्रशिक्षण कार्यक्रम’मा योग अभ्यास गराउँदै मंगल बार उनले यस्तो तथ्य बताएका हुन् ।

सिंहदरवारस्थित रेडियो नेपालको सभाहलमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै गुरु भानुले जीवनलाई स्वस्थ बनाउने उपाय औषधि वा अस्पताल नभई आफैंभित्रको ऊर्जा सक्रिय गर्नु भएको स्पष्ट पारे।

उनले भने, “अरूका लागि समय दिन्छौं, तर आफ्नै लागि समय निकाल्न सक्दैनौं—अब यो अवस्थाको अन्त्य गर्नुपर्छ।” आफ्नो लागि योग गर्नपर्ने तर, त्यसका लागि कुनै धर्म मान्नुपर्ने बाध्यता नभएको उनले बताए । 

“तपाईं आफ्नो मालिक आफैं हो, योग गर्न कुनै धर्म अपनाउनुपर्ने वा, साकाहारी हुनुपर्ने जस्ता कुनै बाध्यता छैन । उनले प्रष्ट पारे ।

पूर्वीय दर्शनले आफूलाई चिनाउने भए पनि, त्यसको अवमूल्यन गरेर पश्चिमी विकासको पछाडि लाग्दा मानिसहरू पीडित भइरहेका उनको भनाइ छ ।

“हामी नेपाली ऋषिमुनीका सन्तान हौं,” उनले भने, “हाम्रा पूर्खाहरूले दिएको आध्यात्मिक अमृत छोडेर हामी भौतिक सुख खोज्दै भौतारिएका छौं।”

गुरुले पूर्खाहरूले अभ्यास गरेका योग, ध्यान र दर्शनलाई नेपालको मौलिक सम्पत्ति ठहर गर्दै त्यसको सदुपयोग गर्न सके नेपालमा सुख, शान्ति र समृद्धि सुनिश्चित हुने विश्वास व्यक्त गरे।

जीवन विज्ञानको मन्त्र ‘आफैंले आफूलाई चिन्नु हो’ भन्दै उनले सहभागीहरूलाई “म खुशी छु, म स्वस्थ छु, म शान्त छु” भन्ने भावना मनभित्र दोहोर्याउँदै लामो श्वास तान्ने र फाल्ने विधिबारे प्रशिक्षण दिए। यो विधि नै जीवनमा आनन्द ल्याउने मूल मन्त्र भएको उनले बताए।

गुरु भानुले नेपाललाई शिव र बुद्धको भूमि भन्दै यहाँको जीवन विज्ञानलाई प्रवर्द्धन गर्न नसक्दा आयातित पश्चिमी जीवनशैलीले मानिसलाई बेचैन र अस्वस्थ बनाइरहेको उल्लेख गरे।

उनले प्राचीन जीवन विज्ञानलाई पुस्तान्तरण गर्दै जानुपर्ने र आरोग्य पर्यटनको विकास गरेर विदेशीसम्म यसको पहुँच पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए।

त्यतिमात्र होइन, उनले तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले जीवन विज्ञानको महत्व बुझेको र यसलाई विस्तार गर्न सहयोग गरेको पनि उल्लेख गरे। साथै, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालको शिलान्यासको सट्टा जीवन विज्ञान कार्यशाला सञ्चालनमा सहयोग गर्न सुझाव पनि दिए।

“यदि जीवन विज्ञानको अभ्यास भयो भने, अस्पताल केवल दुर्घटनाका बेलामात्रै काम लाग्छ। मानिस रोग लागेर मर्ने सम्भावना नै हुँदैन,” गुरु भानुको दाबी थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूसँग प्रश्नोत्तर सत्र राखिएको थियो। प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले मजाकिलो शैलीमा सोधे, “योगाभ्यासले उमेर बढ्छ रे! उमेर त बढ्ला, तर ‘करप्सन’ पनि बढ्ला कि घट्ला?” सारा हल हाँसोले गुञ्जायमान बन्यो।

यद्यपि प्रश्न सामान्य जस्तो लागे पनि, यो प्रश्नभित्र नेपालको वर्तमान सामाजिक यथार्थ झल्किएको थियो। आजभोलि दिनहुँ समाचारमा देखिने भ्रष्टाचार र भ्रष्टाचारीमाथिको कारबाहीको अवस्थाले यस्तो प्रश्न उठाउनु अस्वाभाविक थिएन।

यस्ता अवस्थामा मानिसले भन्ने गर्छन्, “योगले उमेर त बढाओस्, तर ती व्यक्तिको उमेर नबढाओस् जसले देश, जनता र मातृभूमिप्रति घात गरेका छन्, जो जनताको पसिनामाथि खेलवाड गर्दै पाँच पुस्तालाई पुग्ने सम्पत्ति बटुलिरहेका छन्।”

गुरुले सटिक जवाफ दिए, “अरूलाई हानी पुर्‍याउने कुरा योगले कहिल्यै सिकाउँदैन। योग भ्रष्टाचार मात्र होइन, हरेक अपराध न्यूनीकरणको पनि उत्तम उपाय हो।”

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ थिए। उद्घोषक दीपक दाहालले बोल्न निम्त्याएपछि मन्त्री गुरुङले मात्र ३० सेकेन्ड सम्बोधन गर्दै भने, “हामीले धेरै कुरा बुझ्यौं, तर आफ्नै जीवन भने बुझेनछौं। आज त्यही बुझौं।”

सञ्चार मन्त्रालयकी सचिव कमला अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सञ्चारसँग सम्बन्धित विभिन्न संघसंस्था र संगठनका प्रतिनिधिको सहभागिता थियो।

८४ भन्दा बढी देशमा विस्तार भइसकेको नेपालको मौलिक जीवन विज्ञानबारे स्वदेशमै पर्याप्त प्रचार-प्रसार हुन नसकेको भन्दै मन्त्रालयले पत्रकारका लागि प्रतिनिधिमूलक कार्यक्रम आयोजना गरेको आयोजकको भनाइ छ।