धनगढी, २६ पुस । यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली एपिएफ सङ्कटालाई पराजित गर्दै सेमिफाइनमा पुगेको छ ।
एपिएफले सङ्कटालाई शून्यका विरुद्ध २ गोल गरी सेमिफाइनलको यात्रा तय गरेको हो ।
एपिएफका अञ्जन विष्टले पहिलो हाफको २३ औँ मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएकामा दोस्रो हाफको ८५ औँ मिनेटमा अर्को गोल थपेर एपिएफको जित सुनिश्चित गरेका थिए । व्यक्तिगत दुई गोल गर्न सफल विष्ट खेलका म्यान अफ म्याच घोषित भए ।
पहिलो हाफमा एपिएफ सङ्कटामाथि पूर्णरुपमा हावी भएको थियो । सङ्कटा दोस्रो हाफमा सम्हालिँदै आक्रामक बनेको देखिएपनि गोल प्रहार गर्ने केही अवसरलाई सदुपयोग गर्न नसक्दा पराजय व्यहोर्न पुग्यो ।
पहिलो हाफमै गोल खाएका कारण आफ्नो टिम दवावमा परेर खेलमा राम्रो गर्न नसकेको सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले बताए ।
जारी प्रतियोगिताको पहिलो खेलमा आफ्नो टिमले राम्रो खेल प्रदर्शन गर्न नसके पनि क्वार्टरफाइनलमा सुधार भएको एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले बताए ।
बिहीबार त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच खेल हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले जानकारी दिएको छ ।