को हुन् नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर पौडेल

काठमाडौ । नेपाल राष्ट्र बैंकले नयाँ नेतृत्व पाएको छ। सरकारले अर्थशास्त्री डा. विश्वनाथ पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पाँच वर्षका लागि गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।

पौडेलको नाम अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिबाट सिफारिस गरिएको तीन व्यक्तिमध्ये एक हो। सोमबार बसेको सिफारिस समितिको बैठकले गभर्नर नियुक्तिका लागि तीन नाम सिफारिस गरेपछि मंगलबार मन्त्रिपरिषद्ले अन्ततः डा. पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।

पौडेल स्वयं सिफारिस समितिका सदस्य रहेका थिए। तर, प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि उनलाई गभर्नर बनाउने निर्णय लिइएको हो। सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका थिए। त्यसपछि मन्त्रिपरिषद्ले पुरानो समिति विघटन गरी डा. पोषराज पाण्डे र पूर्वगभर्नर महाप्रसाद अधिकारी सम्मिलित नयाँ समिति गठन गरेको थियो।

यसअघि २४ चैत २०८१ मा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल पूरा भएसँगै राष्ट्र बैंक नेतृत्वविहीन बनेको थियो। राष्ट्र बैंक ऐन अनुसार गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिना अगाडि नयाँ गभर्नर नियुक्त गर्नुपर्ने भए पनि यो प्रक्रिया करिब डेढ महिना ढिलो भएर अब कार्यान्वयनमा आएको हो।

डा. पौडेलको परिचय


डा. विश्वनाथ पौडेल नेपालको आर्थिक नीति निर्माण, योजना विकास र अनुसन्धान क्षेत्रमा अनुभवी व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले सन् २०१० मा अमेरिका स्थित क्यालिफोर्निया विश्वविद्यालय, बर्क्लेबाट कृषि तथा स्रोत अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका हुन्। त्यसअघि उनले चीनबाट इन्जिनियरिङमा स्नातक गरेका थिए।

पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। उनी प्रधानमन्त्री शेरबहादुर देउवा कार्यकालमा २०७८ साउन १२ गते आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए। त्यसअघि डा. स्वर्णिम वाग्ले उपाध्यक्ष हुँदा पौडेल आयोगमा आर्थिक सल्लाहकारका रूपमा कार्यरत थिए। पछिल्लो समयमा उनी काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा एसोसिएट प्रोफेसरका रूपमा अध्यापन गरिरहेका थिए।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा पनि कार्यानुभव सँगालेका छन्। विश्व बैंक, अन्तर्राष्ट्रिय श्रम संगठन, मिलेनियम च्यालेन्ज नेपाल, सानिमा बैंक, इसिमोड बोर्ड अफ गभर्नर, र नेपाल उद्योग परिसंघजस्ता संस्थामा उनले परामर्शदाता तथा सल्लाहकारको भूमिका निर्वाह गरेका छन्।

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएर चुनाव लडे पनि पराजित भएका थिए। त्यसपछि उनी पुनः शिक्षण पेसामा फर्किएका थिए। साथै पौडेल आर्थिक इतिहासका ज्ञाताका रुपमा परिचित छन् ।