न्यूनतम पारिश्रमिक पुनरावलोकनको माग

काठमाडौँ, जेठ १ । नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनले श्रमिकहरूको न्यूनतम पारिश्रमिक आर्थिक वर्ष ०८२/८३ को बजेटमै समेट्न माग गरेको छ। काठमाडौँको रिपोर्टर्स क्लबमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा यूनियनले सरकारलाई श्रमिकका हक र हितप्रति संवेदनशील हुन आग्रह गर्‍यो।

अध्यक्ष प्रेम बहादुर कार्कीले जारी विज्ञप्तिमा न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया कानुनअनुसार समयमा नहुँदा श्रमिकहरू मर्कामा परेको जनाउँदै, बजेटमै व्यवस्था नगरे श्रमिकको अधिकार कुण्ठित हुने बताए।

विज्ञप्तिमा भनिएको छ, “सरकारले आफ्ना कर्मचारीको तलब बढाउने तयारी गरे पनि श्रमिकको न्यूनतम पारिश्रमिकप्रति बेवास्ता गर्दै आएको छ।” उनले न्यूनतम पारिश्रमिक १७,३०० तोकिए पनि निजी र अर्धसरकारी निकायले कार्यान्वयन नगरेको, श्रमशोषण बढेको गुनासो गरे।

कार्यक्रममा एकीकृत ट्रेड यूनियन महासंघका अध्यक्ष विष्णु लम्साल, उपाध्यक्ष सुनिता थापा, महासचिव दीपक पौडेललगायतको उपस्थिति थियो। करिब १५० श्रमिकको सहभागिता रहेको कार्यक्रममा श्रमिकहरूले आफ्नो दुःख, न्यून ज्यालामा काम र जागिरबाट निष्कासनजस्ता समस्या राखेका थिए।

यूनियनले पारिश्रमिक ३१ हजार पुर्‍याउन श्रममन्त्रीको प्रतिबद्धता कार्यान्वयन गर्न माग गर्दै, बेवास्ता भए सडक संघर्षमा जानु पर्ने चेतावनी दिएको छ।