डिसेम्बर २१, सन् २०२४ शनिवार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा बुद्धदर्शनमा आधारित लामो कविता ‘अनि प्रतीत्य समुद्पाद, शून्य शून्य महाशून्य’ (१६० पृष्ठको एउटै लामो कविता ) उपर चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
प्राज्ञ प्रा.डा कृष्णहरि बरालको प्रमुख आतिथ्यता तथा अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माको समेत विशेष उपस्थितिमा भएको उक्त कार्यक्रमको सभापतित्व अनेसासका केन्द्रीय अध्यक्ष तथा साहित्यकार सर्वज्ञ वाग्लेले गरेका थिए भने महासचिव राजु सिटौलाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
त्यस्तै कार्यक्रममा अतिथिहरूको सम्मान र कविको परिचय अनेसास केन्द्रका उपाध्यक्ष डिल्लीराम अम्माईले दिएका थिए । उनले काव्यकार लालगोपाल सुवेदीको परिचय दिँदै सुवेदीले अहिलेसम्म दुई दर्जनको आसपास पुस्तकहरू तथा सयौँ फुटकर रचनाहरू दिएर प्रवासी नेपाली समाजलाई साहित्यिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएको बताए ।
काव्य चर्चा परिचर्चा कार्यक्रमका अतिथि वक्ताहरू क्रमशः राजकुमार बानिया, प्रतीक ढकाल थिए । त्यस्तै, वक्ताविशेषमा कवि सुवेदीका गुरु प्रा. खगेन्द्र लुइँटेल समेतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि प्रा. डा.रकृष्णहरि बराल वरिष्ठ साहित्यकार प्रतीक ढकाल प्रसिद्ध समालोचक राजकुमार बानिया बिओटी सचिव नारायण अधिकारीले पुस्तकको समालोचकीय मन्तव्य राखेका थिए ।
कविताको दार्शनिक तत्वहरूलाई उत्खनन् गर्ने क्रममा बिओटीका सचिव तथा साहित्यकार नारायण अधिकारीले बुद्धदर्शनमा आधारित कविताका बहुआयामिक जटिलताबारे सरल र स्पष्ट भाषामा सरलीकरण गरेका थिए ।
पुस्तकको समालोचना गर्दै समालोचक राजकुमार बानियाले पुस्तकको शीर्षकदेखि अन्त्यसम्मका तीन आयामबारे आफ्नो टिप्पणी राख्दै यो पुस्तक एक पटक सबैले पढ्न आग्रह समेत गरे ।
त्यस्तै साहित्यकार प्रतीक ढकालले पुस्तक ‘अनि प्रतित्य समुद्पाद, शून्य शून्य महाशून्य’बारे चर्चा गर्दै यो स्तरको दार्शनिक काव्य नेपाली साहित्य जगतले पाउनु हामी सबैको सौभाग्य भएको आशय व्यक्त गरेका थिए ।
पदम विश्वकर्मा ( बिओटी सभापति ) गीता खत्री ( बिओटी सल्लाहकार ) लीला लुइटेल ( कार्य समिति सल्लाहकार) प्रा. डा.खगेन्द्र लुइटेल (पूर्व सल्लाहकार र अध्यक्ष :अनेसास विधान समिति) कवि रश्मि भट्ट ( बिओटी सदस्य ) प्रसिद्ध कवि ऋषि वस्ताकोटीले शुभकामना मन्तव्य राखेका थिए ।
शुभकामना मन्तव्यका क्रममा कविका गुरु प्रा. खगेन्द्र लुइटेलले पुस्तकको शीर्षक अलिक लामो भएकोमा गुनासो गर्दै कविताका अन्तरवस्तुहरूबारे प्रष्ट्याउँदै आफ्ना प्रिय चेला कवि सुवेदीलाई उक्त दार्शनिक सिर्जनाका लागि बधाई दिएका थिए ।
संस्थापकीय मन्तव्य राख्दै होमनाथ सुवेदी ( संस्थापक अध्यक्ष) पुरु सुवेदी ( पूर्व अध्यक्ष तथा संस्थापक ) ले कवि सुवेदीलाई कृतिका लागि बधाई दिएका थिएभने अनेसासका अध्यक्ष सर्वज्ञ वाग्ले तथा बिओटी सभापति पदम विश्वकर्माले अनेसासका तर्फबाट कवि लालगोपाल सुवेदीलाई दार्शनिक काव्य ‘अनि प्रतित्य समुद्पाद, शून्य शून्य महाशून्य’ का लागि प्रेमपूर्ण शुभकामना तथा बधाई दिएका थिए ।
अमेरिका, क्यानडा,नर्वे, जर्मनी, बेल्जियम, अफ्रिका,जापान, दक्षिण कोरिया, भारत र नेपाललगायतका च्याप्टरका पदाधिकारीहरू, सर्जकहरूको उल्लेख्य उपस्थितिमा भएको उक्त कार्यक्रममा दीपा राई पुन (अमेरिकाबाट ), गणेश खड्का ( अनेसास उपाध्यक्ष/ अफ्रिकाबाट ) विष्णुमाया विभू (नर्वे युरोपबाट ) ले उक्त कृतिबाट कविता वाचन गरेका थिए ।
सामाजिक सञ्जाल जूमबाट सम्पन्न भएको उक्त कार्यक्रममा समालोचकीय मन्तव्य , स्रष्टा चिनारीपरक शुभकामना मन्तव्य र लगातार ३ घण्टा बौद्धिक जिज्ञासापरक धीर गम्भीर सम्पूर्ण श्रोतागणका कारण बेग्लै रौनक छाएको थियो । बौद्धदर्शनको प्रतिच्छायामा उत्तर आधुनिक शैलीशिल्पद्वारा बुनिएको यस काव्यले आजको बिग्रँदो मनोसामाजिक डढेलोको सामना स्रष्टा कवि आदिका मानवतावादी असल विचार र ध्यानजस्तो सुकविताबाट हुन सक्ने निष्कर्ष वक्ताहरूको समग्र कथनबाट प्राप्त भएको थियो ।