अनेसास बोस्टन च्याप्टरले विशिष्ट तथा चर्चित नेपाली कलाकारहरूलाई स्वागत सम्मान कार्यक्रम गर्ने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोस्टन च्याप्टरले विशिष्ट तथा चर्चित नेपाली कलाकारहरूलाई स्वागत सम्मान गर्ने भएको छ ।

च्याप्टरले यही आउँदो सेप्टेम्बर १८ तारिख बुधबारको दिन साँझ ५ बजे नेपाली चलचित्र क्षेत्रमा आबद्ध भएर लामो समयदेखि नेपाली कला साहित्य भाषा र संस्कृतिको उत्थानमा लागेका विशिष्ट तथा चर्चित कलाकारलाई बोस्टनस्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (प्याब्फोन) को सामुदायिक भवनमा एक कार्यक्रम आयोजना गरी भेटघाट स्वागत तथा सम्मान कार्यक्रम गर्ने भएको हो ।

विशिष्ट अभिनेता नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष तथा सल्लाहकार, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष, विशिष्ट चलचित्रकर्मी, लेखक, निर्देशक, नायक कृष्ण मल्ल, विशिष्ट अभिनेत्री शर्मिला मल्ल, विशिष्ट अभिनेत्री वसुन्धरा भुसाल, वरिष्ठ कलाकार रवीन्द्र खड्का, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, लोकप्रिय अभिनेत्री केकी अधिकारी, निर्माता मोहनकृष्ण श्रेष्ठ, चर्चित हास्य कलाकार सन्दीप क्षेत्री, निर्देशक डा. घनश्याम खतिवडा र नायक संजय खतिवडालाई अनेसास बोस्टन च्याप्टरले भेटघाट स्वागत सम्मान गर्न लागिएको कार्यक्रमकी संयोजक साहित्यकार कवि गीतकार तथा चलचित्र निर्माता अनु शाहले जानकारी गराइन् ।

चलचित्र, गीत संगीत, नाटक र कलाकारिता प्रत्यक्ष रूपमा साहित्यसँग जोडिएको हुँदा र कलाकार समाजका दर्पण भएकाले साहित्यकारका साहित्यिक शब्दहरूलाई कलाकारिताद्वारा अभिव्यक्त गरिने हुँदा पनि साहित्य, चलचित्र र कलाकारिता एक-अर्काको परिपूरक हुन् त्यसकारण पनि नेपालका प्रख्यात कलाकारहरूलाई बोस्टन निवासी सम्पूर्ण नेपाली समुदायहरूसँग साक्षात्कार गराउने, पर्दामा मात्र देखिएका कलाकारसँग प्रत्यक्ष भेटघाट गराउने र वर्षौदेखि टाढा भएका कलाकार र समुदायबीच एक-अर्कामा पुनर्मिलन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तले बताए ।

कार्यक्रम सम्पूर्ण नेपाली समुदायको लागि निःशुल्क रहेको हुँदा आफ्नो मन पर्ने कलाकारहरूसँग भेटघाट गर्ने अवसर नगुमाउनसमेत अध्यक्ष पन्तले आग्रह गरेका छन् ।