प्रदिप एफसी भक्तपुरले प्रथम दारी ग्याङ खुला फुटसल प्रतियोगिताको उपाधि जित्यो

भक्तपुर । प्रदिप एफसी भक्तपुरले शनिबार सम्पन्न प्रथम दारी ग्याङ खुला फुटसल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ। फाइनल खेलमा प्रदिप एफसीले फुलमाया एफसीलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो।

काठमाडौंको कपनस्थित कान्तिपुर फुटसलको मैदानमा भएको फाइनल खेलमा प्रदिप एफसीका तर्फबाट सुदर्शन श्रेष्ठ, महेन्द्र कार्की, र रितेश लामाले समान १/१ गोल गर्दै टोलीलाई जित दिलाए। रितेश लामालाई फाइनल खेलको म्यान अफ द म्याच घोषित गरियो।

विजयी प्रदिप एफसीले उपाधिसहित ५० हजार नगद पुरस्कार हात पारेको छ भने उपविजेता फुलमाया एफसीले ३० हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भयो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि प्रदिप एफसीका सुदर्शन श्रेष्ठले जिते भने उत्कृष्ट गोलरक्षकको पुरस्कार फुलमाया एफसीका गोलरक्षकले प्राप्त गरे।

यो दुईदिने प्रतियोगितामा कुल ३२ टोलीको सहभागिता रहेको थियो। प्रदिप एफसीका प्रशिक्षक प्रदिप ढकालले टोलीको मिहिनेत, समर्थन, र सहयोगीहरुको आशिर्वादले सफलता हात परेको बताउँदै सम्पूर्ण सहयोगी, समर्थक, र शुभचिन्तकलाई धन्यवाद व्यक्त गरे। जापानबाट प्रदिप एफसीलाई आर्थिक सहयोग गर्ने बिश्व थिङप्रति विशेष आभार प्रकट गरिएको छ।