भक्तपुरको दुवाकोटमा घरको छतबाट खसेर मृत्यु

भक्तपुरको  चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा बसोबास गर्दै आएका ५२ वर्षीय विष्णु वैद्यको बिहीबार साँझ आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ। वैद्य आफ्नै साढे तीनतले घरको छतबाट अचानक घरको पछाडि रहेको धान खेतमा खसेका थिए, जसका कारण गम्भीर घाइते भएका उनको उपचारको क्रममा निधन भएको हो।

घटनापछि तत्काल उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन कार्कीका अनुसार वैद्यको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल, दुवाकोट पठाइएको छ। घटनाको अनुसन्धानका लागि प्रहरी वृत्त थिमिको टोली खटाइएको छ र अनुसन्धान जारी रहेको डिएसपी कार्कीले जानकारी दिनुभयो।