२०८१ भदौ ४ मंगलवार ।
बागमती रीभर फेस्टिवल महाजल यात्रा अभियानअन्तर्गत बागमती विशेष काव्य उत्सव सम्पन्न भएको छ।
फ्रेन्ड्स क्लव कुपन्डोल र अनेसास नेपाल च्याप्टरको आयोजनामा सम्पन्न उक्त कार्यक्रम प्रमुख आतिथ्यता नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे रहेका थिए ।
कार्यक्रममा विशेष अतिथि बागमती रिभर फेस्टिभलका संयोजक राजिव पौडेल, बागमती अभियन्ता मेघ आले, फ्रेन्ड्स क्लवका योगेन्द्रजंग बस्नेत रहेका थिए।
कार्यक्रममा बागमतीविषयक कविता वाचन गरिएको थियो। भावकेशर बराल, माधव विडारी, मधु पाठक, रमेश दाहाल, डिल्लीरमण सुवेदी, पौडेल विमुंस, बिक्रम भक्त जोशी, रन्जना निरौला, शशी पण्डित, निर्मलनारायण पराजुली, मंजिला अनिल, कमला रिसाल, शान्ति रिसाल, रत्न घिमिरे, समिना खनाल पृथा, दुर्गा ढकाल, प्रकाशमणि शर्मा, इन्दिरा ढकाल, शान्ता बस्नेत, सविता श्रेष्ठ बेहोसी, राज रजकलगायतका कविहरूले बागमतीका विषयमा कविता वाचन गरेका थिए। बागमतीविषयक कवितामा व्यक्त भावहरूले उपस्थित सबैलाई भावविभोर बनाएको थियो ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राजिव राज पौडेल, मेघबहादुर आलेम, योगेन्द्र जुङ्ग बस्नेतले पुरानो बागमती र अहिलेको बागमतीको तुलना गर्दै बागमतीलगायत नदीहरूको संरक्षण गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
अध्यक्ष राजेन्द्र केसीले बागमती सफा पार्नका लागि महानगरपालिकाले सेफ्टीट्याङ्कीविनाको घरको नक्शा पास गर्न नहुने र हरेक घरमा सेफ्टीट्याङ्कीको व्यवस्था अनिवार्य गराउनुपर्ने कुरामा जोड दिएका थिए ।
प्रमुख अतिथि घिमिरेले गोपाल वंशीदेखिको इतिहास रहेको काठमाडौँमा मान्छे कसरी पस्यो र दुषित गर्यो यो त देवताहरू बस्ने ठाउँ हो भन्दै बागमतीको सभ्यतालाई जोगाउन आवश्यक रहेको कुरामा जोड दिएका थिए । कार्यक्रम संचालन कवि ऋषभदेव घिमिरेले गरेका थिए भने कार्यक्रम युएनपार्कस्थित बागमती तटमा गरिएको थियो । सप्ताहव्यापी २४औँ बागमती रिभर फेस्टिवलमा यसअघि जलयात्रा गरिएको थियो ।