राजधानीमा साहित्य चौतारीले राष्ट्रकविको सम्झना गर्दै

२०८१ साउन ३१, काठमाडौं ।

साहित्य चौतारी झापाले आज अग्रज शिखर सर्जक राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा लैनचौरस्थित कवि कुन्जमा एक विशेष कार्यक्रमको आयोजना गरेर कालजयी गीतका सर्जक घिमिरेप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्यो ।

 

सोही कार्यक्रममा श्रीमती महाकाली घिमिरेलाई सम्मान पनि गर्यो ।  सो सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति कलाकार नारदमणि हार्तम्छाली, विशिष्ट अतिथिहरु साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, दार्जिलिङका सर्जक जीवन अधिकारी, साहित्य चौतारीका अध्यक्ष/संरक्षक देवीभक्त श्रेष्ठले प्रदान गरेका थिए ।

 

साथै माता गौरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको सो कार्यक्रममा आमा महाकालीको सम्मानमा राष्ट्रकविका छोराहरु एवं परिवारजनको साथ सहयोग रहेको थियो । सर्जकहरुले राष्ट्रकविको सङ्ग्रहालयको अवलोकन पनि गरेका थिए ।

 

कार्यक्रममा विशिष्ट अतिथि राधेश्याम लेकालीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको बारे प्रकाश पार्दै संस्मरणहरु सुनाएका थिए । साथै उहाँले राष्ट्रकवि घिमिरे स्काउट रहेको चर्चा गर्दै देशको विषम परिस्थितिको बेला राष्ट्रियता जगाउने सिर्जना गरेको चर्चा गरेका थिए । 

 

कार्यक्रममा राष्ट्रकविले सिर्जना गरेका कालजयी गीतहरु – “नेपाली हामी रहुँला कहाँ नेपालै नरहे”, “फूलको थुँगा बहेर गयो गंगाको पानीमा”,”गाउँछ गीत नेपाली”, “आज र राती के देखें सपना” गीतहरु गायकहरु जीवन अधिकारी, लोचन भट्टराई, लाक्पा शेर्पा, प्रदीप देवान, समीर खरेल धना राई लगायतले गाएका थिए ।

 

संचारिका समूहकी अध्यक्ष कवि विमला तुम्खेवाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै अध्यक्ष/संरक्षक देवीभक्त श्रेष्ठले संस्थाको उद्दाटन राष्ट्रकवि घिमिरेले २०५६ सालमा गरेको बताएका थिए । साथै कविकुन्ज संग्रहालयको थप व्यवस्थापनमा साहित्य चौतारीको चासो व्यक्त गरेका थिए । उनले संग्रहालयको उचित व्यवस्थापन गर्न प्रतिष्ठान र नेपाल  सरकारको ध्यानाकर्षण पनि गराएका थिए ।

 

राष्ट्रकविको घरलाई कविकुञ्ज र बाटोलाई ‘कविमार्ग’ नामकरण गर्न पनि आग्रह गरिएको थियो । यसैगरी कार्यक्रमका प्रमुख अतिथि कुलपति हार्तम्छालीले साहित्य चौतारीको योगदानको चर्चा गर्दै नेपाली कला, साहित्य र संस्कृतिको उन्नयन र विकासको लागि प्रज्ञा-प्रतिष्ठानहरुले पुर्याएको योगदानबारे उल्लेख गरेका थिए । साथै नेपाली साहित्यमा राष्ट्रकवि घिमिरेको योगदानको पनि चर्चा गरेका थिए ।

 

साहित्य चौतारीका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले संचालन गरेको सो कार्यक्रममा लोचन भट्टराई, सम्मानित महाकाली घिमिरे लगायतले पनि आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा साहित्यकारहरु पूर्व महासेनानी पूर्ण ओली, सरस्वती गौतम, दिलबहादुर थापा, माया पोखरेल, कृपा दाहाल, संस्थाका सचिव/संरक्षक गर्व श्रेष्ठ लगायत शोभाकान्त शर्मा, राजिव घिमिरे, इन्दिवर घिमिरे, डा. किरण रेग्मी, विजेता घिमिरे, शान्ति अधिकारी लगायतको उपस्थिति रहेको थियो ।