गठ्ठाघर दुर्घटनाको हालसम्म पनि मृतकको सनाखत हुन सकेन

साउन ३१ , भक्तपुर

भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी ज्यान गुमाएको स्कुटी चालकको गलत पहिचान दिने दोलखा मेलुङ्गका राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीले घटनास्थलमा आएर मृतक आफ्नो बहिनी भएको भन्दै गलत पहिचान दिएको प्रहरीको आरोप छ ।

नेपालीले मादक पदार्थ सेवन समेत गरेको देखिएको प्रहरी वृत्त थिमिले बताएको छ । उनले विगतमा पनि यस्तै अफवाह फैलाएको पाइएको बताइएको छ ।

योसंगै रानीपोखरीका एसएसपीको हवाला दिंदै बिभिन्न अनलाइनले मृतक भनेका व्यक्ति जिवितै रहेको देखिएको छ ।

नन स्टपखबरसंग कुरा गर्दै भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अझै पनि मृतकको पहिचान खुल्न नसकेको बताएकी छन् । मृतकसंग पहिचान खुल्ने कुनै कागजात नभेटिएको उनले हिमालय टाइम्ससंग भनिन् ।

मृतक सवार बा४९प ८९४४ नम्बरको स्कुटरको ब्लु बुक रेकर्डमा सवारी धनी ओखलढुंगाका उत्तम कोइराला देखिएकाले अहिले प्रहरी उनको सम्पर्कमा पुग्न तल्लीन रहेको छ । कोइरालाको मोबाइल नम्बर स्वीच्ड अफ आइरहेको छ । उनीसंग सम्पर्क भएपछि यकिन पहिचान प्राप्त गर्न सकिने अपेक्षा गरिएको छ ।

बिहीवार दिउँसो करिब २ बजेको समयमा काठमाडौबाट आइरहेको बा४९प ८९४४ नम्बरको स्कुटीलाई सोही दिशाबाट आइरहेको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले गठ्ठाघर बस स्टपमा ठक्कर दिएको थियो । त्यसपछि पनि ट्रक चालकले जानीजानी घिसारेर स्कुटी चालकको ज्यान लिएको भन्दै स्थानीय आक्रोशित भएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो । भीडलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
नन स्टपखबर  संग कुरा गर्दै सिडिओ रोशनीकुमारी श्रेष्ठले संयमता अपनाउन सबैसंग आग्रह गरेकी थिइन् । दुर्घटनाका दोषीलाई उन्मुक्ति नहुने प्रतिवद्धता प्रकट गर्दै उनले प्रहरी प्रशासनलाई सहयोग गर्न स्थानीय प्रदर्शनकारीसंग अनुरोध गरेकी थिइन् ।

दुर्घटनाको ३ घण्टा पछि प्रहरीले क्रेनबाट ट्रक उठाएर शव बाहिर निकाल्न सफल भएको थियो । फरार ट्रक चालकलाई मिनभवनबाट प्रहरीले थिमि वृत्तमा ल्याइपुर्याएको र थप अनुसन्धान गरिरहेको बताइएको छ।