आना स्टरले पाइन् कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालको लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार

सन् २०२४ जून ३ वोस्टन, अमेरिका

विसं. २०८० साल फागुन ६ फलेवास पर्वत नेपालमा घोषणा गरिएको कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार एक विशेष समारोहका बिच आना स्टरलाई बितरण गरियो । उक्त पुरस्कार नेपालको संस्कृति एवं लोकसाहित्यका अनुसन्धानदाता श्रष्टा कालीभक्त पन्तको नाममा स्थापित भएको हो ।

प्रतिष्ठानका अन्तर्राष्ट्रिय संयोजक महेश्वर पन्तले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका संरक्षक गोविन्दप्रसाद पन्त- प्रमुख अतिथि, अनेसास बिओटिका पूर्व सभापति गिता खत्री- विशेष अतिथि, अनेसास बिओटिका वर्तमान सभापति पदम विश्वकर्मा- अतिथि अनेसास केन्द्रीय महासचिव  विमला निरौला- अतिथि, पुरस्कृत व्यक्तित्व नेपाली लोक गीतमा विद्यावारिधि गर्नुहुने आना स्टरलगायत प्रतिष्ठान र यहाँ वरपरका हिमालयन लायन्स क्लव, अनेसास बोस्टन, लोक सुसेली लगायका पदाधिकारी सदस्य समेतको उपस्थिति थियो ।

नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अध्ययन, अनुसन्धान गर्ने, कृतिहरू प्रकाशन गर्ने, लोकवार्ता र संस्कृतिको प्रचार-प्रसार र  विकास गर्ने, व्यक्तित्वलाई विगत छ वर्षदेखि कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । नेपालमा रू १,०१,०००।– र विदेशमा १००१ अमेरिकी डलर  राशि तथा सम्मानपत्रसहितको उक्त पुरस्कार यस  वर्ष नेपाली लोक गीतको विधामा विद्यावारिधी (Ph. D) गर्नुभएकी, नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अध्ययन, अनुसन्धान, कृतिहरू प्रकाशन, लोकवार्ता र संस्कृतिको विदेशमा समेत प्रचार-प्रसार गरी अद्वितीय योगदान पुर्याउने अमेरिकी नागरिक हवाई विश्वविद्यालय सं.रा. अमेरिकाका सह प्राध्यापक एवं सोही विश्व विद्यालयको South Asian Studies का निर्देशक श्री आना स्टर (Anna Stirr) लाई प्रदान गरिनुका साथै दोसल्ला ओढाई सम्मानपत्र पनि अर्पण गरिएको थियो ।

यस अघि यो पुरस्कार सत्यमोहन जोशी-(२०७५), कृष्ण कँडेल – (२०७६), तुलसी दिवस– (२०७७), प्रा. डा. चूडामणि बन्धू- (२०७८) र कुमार बस्नेत- (२०७९) लाई प्रदान गरिएको थियो।

सोही समारोहमा आना स्टरलाई लोक सुसेली, हिमालयन लयन्स क्लव, अनेसास बोस्टन च्याप्टरले समेत सम्मानपत्र तथा पुरस्कार प्रदान गरेको थियो । कार्यक्रममा मञ्चासीन व्यक्तित्वहरू, कवि लालगोपाल सुवेदी, लायन्स क्लवका अध्यक्ष थानीरत्न कँडेल, अनेसास बोस्टनका वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी विजय शर्मा, सहसचिव प्रतीक रावल, नेपाल सरकारका पर्यटन दूत मिलन गुरुङलगायतले साहित्यकार तथा लोक साहित्यका अनुसन्धाता कालिभक्त पन्तको फोटोमा माल्यार्पण गर्दै  आफ्ना शुभकामनाका शब्दहरू राखेका थिए ।

प्रतिष्ठान र पुरस्कृत व्यक्तित्वका बारे छोटो जानकारी संस्थाका कोषाध्यक्ष परमेश्वर पन्तले दिएका थिए ।

समारोहलाई सम्बोधन गर्दै पुरस्कृत नेपाली लोकसाहित्यकार, लोक गीत गायिका, नेपाली लोकसाहित्यको प्रचारक आना स्टरले ‘पुरस्कारले अझ बढी काम गर्ने हौसला मिलेको’ भन्दै संस्थालाई धन्यवाद दिएकी थिइन् ।

कालीभक्त पन्त द्वारा लेखिएका कृति, वहाँको राजनैतिक र सामाजिक जीवनका बारे सभाको समाप्तिमा सभाका सभापति महेश्वर पन्तले चर्चा गरेका थिए भने

अनेसास बोष्टनका सचिव प्रकाश खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।