प्रज्ञा अन्तर्देशीय पुरस्कार पाए पदमले

 नेपाल प्रज्ञा–प्रतिष्ठानले आज एक भव्य समारोहबिच प्रज्ञा-अन्तर्देशीय पुरस्कारसहित दर्जन प्रज्ञा पुरस्कार प्रदान गरेको छ ।

प्रज्ञा-अन्तर्देशीय पुरस्कार स्थापनाको पहिलो पुरस्कृत व्यक्ति नै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्मा भएका छन् । विश्वकर्मालाई नगद रु. १ लाख नगद पुरस्कारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको होे ।

समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राई, उपकुलपति विमल निभाको हातबाट जनही नगद रु. १ लाखको पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानले बर्सेनी प्रदान गर्ने प्रज्ञा-पुरस्कारमा यो वर्ष केही प्रज्ञा-पुरस्कारहरु थप गरेको छ । जसमा प्रज्ञा-अन्तर्देशीय पुरस्कार, प्रज्ञा-बालसाहित्य पुरस्कार, प्रज्ञा-मातृभाषा साहित्य पुरस्कार, प्रज्ञा-गद्य तथा पद्य साहित्य पुरस्कार, प्रज्ञा-समालोचना पुरस्कार आदि थप रहेका छन् ।

आज पुरस्कृत हुनेहरुमा अनेसास बिओटी सभापति पदम विश्वकर्मा, साहित्यकार तथा राजनीतिज्ञ मोहनविक्रम सिंह, खगेन्द्र सङ्ग्रौला, देवी नेपाल, बाल साहित्यकार गंगा आचार्यसहित दर्जन साहित्यकारहरु रहेका छन् ।

प्रज्ञा प्रतिष्ठानको सभाहलमा खचाखच भरिएका अतिथिहरुलाई उपकुलपति विमल निभाले आफ्नो मन्तव्यमार्फत स्वागत गरेका थिए भने पुरस्कृत साहित्यकारहरुको संक्षिप्त परिचय प्रज्ञा-प्रतिष्ठानका मधुसुदन गिरीले दिएका थिए ।

समारोहमा उपस्थित पुरस्कृत व्यत्तित्वहरुले आआफ्ना मन्तव्य व्यक्त गरेका थिए ।

मन्तव्यका क्रममा खरो समालोचक भनेर ख्यातिप्राप्त खगेन्द्र सङ्ग्रौलाले अधिकांश पुरस्कृत व्यक्तिहरुको चाहना कुनै झण्डावाल व्यक्तिको हातबाट पुरस्कार ग्रहण नगर्ने भएर नै यी पुरस्कारहरु प्रतिष्ठानको सभाहलमा र प्रतिष्ठानको कुलपतिकै हातबाट प्रदान गरिएकोमा खुसी तथा धन्यवाद व्यक्त गरेका थिए ।

‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा—प्रतिष्ठान’ भन्ने नारासहित नेपाल प्रज्ञा-प्रतिष्ठानले यसभन्दा अघि पनि विभिन्न पुरस्कारहरुको स्थापना गरी पुरस्कार वितरण गरिसकेको छ । जसमा प्रज्ञा-साहित्यिक पत्रकारिता पुरस्कारको पहिलो पुरस्कार वरिष्ठ साहित्कार रोचक घिमिरे नगद रु. १ लाखसहित सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

Loading...