तीनै तिम्ल्याहा नर्स, पढाईमा उस्तै प्रतिस्पर्धा

वीरगञ्ज । एकै पटकमा तिम्ल्याहा सन्तान जन्मिएको समाचार नौलो होइन तर पूर्वप्राथमिकदेखि स्नातक तहसम्म एउटै विषय अध्ययन गरेको समाचार सबैका लागि रोचक हुन सक्छ ।

तिम्ल्याहा दिदीबहिनी लबिबा खातुन, अतिका खातुन र सबिका खातुन अहिले नर्सिङको स्नातक तहमा अध्ययनरत छन् । लबिबा महाराजगन्जस्थित इन्स्टिच्युट अफ मेडिसिन (आइओ एम), सबिका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अतिका पोखरा नर्सिङ क्याम्पसमा भर्ना भएकी छिन् ।

उनीहरूले गत वर्ष चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सहभागी भई छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।

२०६२ चैत १६ गते वीरगन्जमा जन्मिएका उनीहरूबिच पढाइमा सानैदेखि प्रतिस्पर्धा नै चल्थ्यो । प्राथमिक तहसम्म त उनीहरूसँग प्रथम, द्वितीय र तृतीय स्थानका लागि अन्य विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्दैनथे ।

उनीहरूले माध्यमिक तहसम्म फरक स्थानका विद्यालयमा अध्ययन गरे । ‘बाबु सरुवा भएर जता जानुहुन्थ्यो हामीलाई पनि त्यतै लैजानुहुन्थ्यो । त्यही भएर स्कुल पनि परिवर्तन भइरहन्थ्यो,’ तिम्ल्याहामध्ये की अतिकाले भनिन् । समिन अहमद र सबिला खातुनका तिम्ल्याहा सन्तान कक्षा १ देखि ५ सम्म काठमाडौँको सिनामङ्गलस्थित गुह्येश्वरी माध्यमिक विद्यालयमा पढेका थिए । पढाइमा अब्बल भएकै कारण उनीहरू कक्षा ६ नपढी इटहरीको कञ्चनजङ्घा बोर्डिङ स्कुलमा भर्ना भए ।

पर्साको विन्ध्यवासिनी गाउँपालिका–५, निवासी समिन अहमद मस् िजदमा नमाज पढाउने शिक्षक छन् । यसैले गर्दा उनको बेलाबेलामा सरुवा भइरहन्थ्यो । उनीहरू कञ्चनजङ्घामा कक्षा ७ र ८ पढेपछि काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयमा कक्षा ९ र १० पूरा गरे । उनीहरू तिनै जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समान ग्रेड अर्थात् ३.९ जिपिए प्राप्त गरेका थिए ।

उनीहरुले कक्षा ११ र १२ त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट पूरा गरेका थिए । तीन जनाका एकजना भाइ छन् । विविध कारणले कक्षा १२ सम्म अध्ययन गर्न पाएकी आमा सबिला खातुनलाई पनि नर्सिङ अध्ययन गर्ने इच्छा भएपनि सो पूरा गर्न पाइनन् तर आफ्नो सपना छोरीहरूले पूरा गर्न लागेकामा खुसी छिन् ।

आमा सबिलाले साबिकको एसएलसी परीक्षा दिँदै गर्दा तेस्रो दिन तिम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन् । छोरीहरूको जन्मपछि उनी थप विषयको परीक्षा दिन वञ्चित भइन् र बल्ल अर्को वर्ष एसएलसी परीक्षा उत्तीर्ण गरिन् । उनले भनिन्, ‘मेरो पनि चाहना त चिकित्सा क्षेत्रमै जाने थियो । विविध कारणले मेरो इच्छा पूरा भएन । मेरो इच्छा छोरीहरूले पूरा गर्दैछन्, खुसी लागेको छ ।’ यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।

Loading...