दुर्गा प्रसाईको दुखेसो : उपत्यकाले साथ दिएन

गणतन्त्र बिरोधी भनिएका अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफ्ना समर्थकलाई काठमाडौंको सिफलमा सम्बोधन गरेका छन् । भक्तपुरको थिमिस्थित निवासबाट प्रहरी स्कर्टिङ्ग सहित सिफल पुगेका उनले त्यहाँस्थित विरोध सभालाई सम्बोधन गरेका हुन्।

बिहीवार बल्खुमा प्रदर्शन गरेको प्रसाई समूहले शुक्रवार तीनकुनेमा प्रदर्शन गर्न खोजेपनि स्थानीय प्रशासनले अवरोध गर्यो र प्रसाई घर बाट बाहिर निस्किएनन । शनिवार भने उनी प्रहरी स्कर्टिङ्ग सहित सिफल पुगेर प्रदर्शनमा सामेल भएका छन् । शनिबार दिँउसो सिफलमा भएको बिरोध सभालाई सम्बोधन गर्दै व्यवसायी प्रसाईले भक्तपुरसहित उपत्यकाका जनताले आफूलाई साथ् नदिएको दुखेसो व्यक्त गरे ।

काठमाडौँ, ललितपुर र भक्तपुरबासीलाई घरबाट बाहिर निस्केर आन्दोलनमा सघाउन आग्रह गर्दै प्रसाईले अन्यथा युवाहरु विदेसिरहने र काठमाडौँ खाली हुने जिकिर गरे । ”तपाईंहरु बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन’ उनले भने ।

आफूलाई प्रधानमन्त्री नचाहिएको उद्घोष गर्दै उनले भ्रष्टाचार र बेथितिविरुद्ध आफू अभियानमा रहेको दावी गरे । आफू बाजुन्जेल देशको हितमा लागिरहने उनको भनाइ छ ।

नेकपा(माओवादी केन्द्र) हुँदै नेकपा (एमाले) को केन्द्रीय सदस्य रहिसकेका व्यवसायी प्रसाई पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामको आफ्नै नेतृत्वको छुट्टै राजनीतिक अभियानमा संयोजकको रुपमा सक्रिय रहेका छन् ।

 

Loading...