बालकृष्ण र टोपबहादुर मुखामुख गर्छन्, तर खासखुस सुनिदैन

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ आरोपीमध्ये दुई उच्च राजनीतिक नेता पनि छन् । एमालेका निलम्बित सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपवहादुर रायमाझी र कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण ।

यी दुई फरक दलका उच्च राजनीतिक नेता भएपनि नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले प्रहरी हिरासतमा छन् । बालकृष्ण बैशाख २७ मा पक्राउ परेका थिए । यस हिसावले बालकृष्णले प्रहरी हिरासतमा ३३ दिन विताईसकेका छन् ।
टोपवहादुर भने यो प्रकरणको मुद्दामा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि केही दिन लुकेर बसेपछि गत बैशाख ३१ गते पक्राउ परेका थिए । उनले पनि २९ दिन हिरासतमा विताईसकेका छन् ।

उनीहरुविरुद्द काठमाडौं जिल्ला अदालतका न्यायाधीस प्रेम प्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस गत जेठ २१ बाट सुरु भएको छ । जेठ ३१ सम्म सवै वादी प्रतिवादी दुवै पक्षको बहस सकेर थुनछेकको सुनुवाई सुनाउने तयारीमा जिल्ला न्यायाधीस न्यौपाने जुटेका छन् । त्यही आधारमा उनले बहस गर्ने समयतालिका नै बनाएर बहस पक्ष विपक्षको वहस सुनिरहेका छन् ।

सामान्ययताः थुनछेक बहस निरन्तर भइृरहादा चिरपरिचित यी अलग पार्टीका दुई नेताका बीचमा सम्वाद हुनुपर्ने हो । अर्थात जो कोहीले पनि बालकृष्ण र टोपवहादुरका बीचमा कुनै न कुनै सम्वाद थुनछेक बहसमा आउँदा , भेटिदा होलान् भन्ने अपेक्षा गरिन्छ । तर यी दुइृ नेताले मुखामुख गरेपनि एक अर्कामा सम्वाद भने गरेका छैनन ।

अदालतमा बहस सुन्ने क्रममा पनि उनीहरु एक अर्काको नजिक समेत बस्दैनन । २१ जेठ यता शनिबार बाहेक निरन्तर जिल्ला अदालतमा बिहान १० बजेदेखि बेलुकी सरदर ६ बजेसम्म बस्दा पनि उनीहरुका बीचमा कुनै बोलाचाल नदेखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

‘उहाँहरु (बालकृष्ण र टोपवहादुर) मुखामुख गर्ने त गरेका छन्, तर बोलचाल भने दुई नेताका बीचमा भएको देखिएको छैन,’ प्रहरीका एक अधिकारीले मेरोन्यूजसँग भने ।

इजलासमा पूर्व गृहमन्त्री खाण थुनछेक बहस सुरु भएको जेठ २१ मा जुन ठाँउमा बसेका थिए, अहिलेसम्म त्यही मात्रै बसिरहेका छन् । अर्थात खाँण इजलासमा बहस सुन्ने क्रममा जहाँ बसेका छन्, उनको त्यो बस्ने ठाउँ स्थायी छ भन्दा पनि हुन्छ । इजलासको सेकेन्ड लास्ट लाइनको कुर्सीमा खाणका लागि बस्ने ब्यवस्था मिलाईएको छ । उनीसँगै पक्राउ परेका उनीसहित ३ जना बस्न मिल्ने कुर्सी छ । खाणसँग पूर्व सांसद आङ्टावा शेर्पा र सचिव टेकनारायण पाण्डे सँगै बसेर बहस सुन्ने गरेका छन् ।

आइतबार भने पाण्डे आफनो वकिलले बहस गर्ने भएका कारण उक्त सिटमा नबसि अगाडी बसेर आफनो पक्षमा भएको बहस सुनेर नोट गरिरहेका थिए । यदाकदा खाँणले आफु गृहमन्त्री हुँदाका स्वकीय सचिव नरेन्द्र केसीलाई आफैँले इशारा गरेर बोलाउँछन् र ‘खासखुस’ गर्ने गर्छन् । तर सँगैको राजनीतिक नेता टोपवहादुरसँग भने न खाँणले खासखुस गरेका छन्, न टोपवहादुरले नै ।

त्यसो त इजलासमा खाँण हत्तपत्त बोल्दैनन् । सँगैको अर्को कुर्सीमा टोपबहादुर रायमाझीलाई राखिने गरेको भएपनि उनीहरुका बीचमा ‘खासखुस’ चलेको छैन ।
इजलासमा आउँदा कोट–पाइन्ट नछुटाउने पूर्व गृहमन्त्री बालकृष्ण खाण आइतबार निधारमा कालो टीका लगाएर आए । उनी टाउकोमा क्याप लगाउन पनि छुटाउँदैनन् । रायमाझी भने आफुलाई जे अनुकुलता हुन्छ त्यही लुगा लगाएर आउने गरेका छन् ।

छोरा पाखुरा समाउँछन, टोपवहादुर ‘बस्’ भन्छन्
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपवहादुर रायमाझीका भने बाबु छोरा नै पक्राउ परेर प्रहरी हिरासतमा छन् । थुनछेक बहसमा दुवै इजलासमा भेटिन्छन् । इजलासमा पुग्ने वित्तिकै छोरा सन्दीपले हरेक दिन बाबु टोपवहादुरको पाखुरा समाउने गरेका छन् ।

जवाफमा टोपवहादुर ले ‘बस्’ मात्र भन्छन् । त्यसपछि सन्दीय इजलासको अन्तिम लाइनको बेन्चमा बस्ने गर्छन् । इजलासमा बुवा-छोरा एक दिन पनि सँगै बसेका छैनन् ।

Loading...