यसरी जिताइएको रहेछ गच्छेदारलाई, भगवती चौधरी भन्छिन, अन्तराष्ट्रिय अदालत जान्छु

काठमाडौं, पुस १ । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका विजयकुमार गच्छेदारसँग पराजित उम्मेदवार भगवती चौधरीले निर्वाचन परिणाम अस्वीकार गरेकी छन् सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार चौधरीले षडयन्त्रपूर्वक गच्छेदारलाई जिताउने र आफूलाई हराउने काम भएको भन्दै परिणाम स्वीकार नगर्ने बताईन् ।

मत परिणाम सार्वजनिक भए लगत्तै उनले इटहरीमा पत्रकार सम्मेलन गरेर गच्छेदारले कर्मचारीलाई पैसा खुवाएर निर्वाचन जितेको आरोप लगाइन् । ‘सत्ताको दुरुपयोग गरी सुनसरी ३ का जनताको आखाँमा छारो हाल्ने काम भएको छ,’ उनले भनिन्, ‘म जनताको मतको कदर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको सहयोग लिने छु ।’

गच्छेदारसँग उनी ३ सय २१ मतले पराजित भएकी थिइन् । गच्छेदारले ३८ हजार ९७२ मत ल्याए भने चौधरीले ३८ हजार ६५१ मत पाइन् ।

एमालेबाट वाम गठबन्धनकी उम्मेदवार चौधरी मतगणनामा धाँधली भएको भन्दै सोमबारदेखि नै मतगणनास्थल बाहिरिएकी थिइन् । मतगणनाको अन्तिम परिणाम सुनाउँदै गर्दा समेत उनी मतदान स्थल थिइनन् ।

सिमरियास्थित जनता माध्यामिक विद्यालयको मतदान केन्द्रबाट कर्मचारीहरुले नै मत खसालेको तर, मतदान अधिृकत मौन बसेको उनले बताइन् । जनता माविमा ३ हजार १ सय ९१ मतदाता रहेका थिए ।

पत्रकार सम्मेलनमा चौधरीले धाँधली हुनुका कारणहरु यसरी बताइन्

– मतगणनास्थलमा अर्धकट्टीसहितको मत्रपत्र भेटिनु । भगवती त्यसको सिरियल नम्बर हेरौं भन्दा मतदान अधिकृत टीका घिमिरेले ‘यो सिरियल नम्बर हेर्ने कुरा संसारको कुन कानुनमा लेखेको छ देखाउनुस् भन्दै हेर्न नमान्नु ।

– मतदान अधिकृतले मतदान सकिएपछि मुचुल्का गर्न प्रयोग गरिने खाली कागज पत्र (केहि नलेखिएको) सहितको फायल भेटिनु ।

– मत पेटिका सिल गर्न प्रयोग गरिने दुई वटा सामग्री (स्टीकर जस्तो) मतगणनास्थल भन्दा बाहिर भेटिनु । जसलाई काटेर प्रयोग गरिन्छ र प्रयोग गरिसकेपछि सुरक्षित राख्नुपर्ने हुन्छ । तर त्यो च्यातिएको अवस्थामा मतगणनास्थल बाहिर भेटिनु ।

– मतगणनास्थलमा मतगणना हुनु पहिले नै सीसी क्यामेरा जडान गर्न माग गर्दा समेत मतदान अधिकृतले अस्वीकार गर्नु ।

– मतदान स्थलभित्र टेलिफोन लग्न पाइदैन । तर काँग्रेस कार्यकर्ताले मोबाइल प्रयोग गर्नु । मोबाइल प्रयोग गर्न रोक्नु पर्ने एमाले कार्यकर्ताको कुरा मतदान अधिकृतबाट वेवास्ता हुनु ।

– मतगणनास्थलमा अर्धकट्टीसहितको मत्रपत्र भेटिएपछि भगवती चौधरीद्वारा मतगणना स्थगित गरि उच्चस्तरीय छानबीन समिति गठन गर्न र मतदान अधिकृत परिवर्तन अस्ती सोमबार नै निर्वाचन कार्यालय सुनसरी मार्फत निर्वाचन आयोगमा निवेदन दिएपनि त्यसको सुनुवाई गर्नुको साटो मतगणनालाई अगाडि बढाएर मतपरिणाम घोषणा गर्नु ।

Loading...