प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति यसै महिनाभित्र घोषणा गर्ने तयारी

असार १७,काठमाण्डाै। सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति यसै महिनाभित्र घोषणा गर्ने तयारी थालेको छ ।

संविधान अनुसार प्रतिनिधि र प्रदेश सभा सदस्यको कार्यकाल पाँच वर्षको हुने भएकोले आउँदो मंसिर २२ गते अगाडि नै प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनाव हुनुपर्ने ब्यबस्था छ  । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले त्यसका लागि निर्वाचन आयोगले छिट्टै सरकारलाई मितिबारे सिफारिस गर्ने र थप परामर्श गरी सरकारले यही महिनाभित्र मिति घोषणा गर्ने बताउनु हुन्छ ।

 आयोगले कात्तिक ३० गतेका लागि चुनावको मिति सिफारिस गर्ने सम्भावना छ ।

सरकारले पनि कात्तिक मसान्तभित्र चुनाव गर्नेगरी आन्तरिक तयारी गरिरहेको छ । प्रमुख आयुक्त थपलियाका अनुसार आउने चुनाव पनि सकेसम्म एकै चरणमा गर्ने तयारी छ । तर त्यसका लागि सरकारले पर्याप्त मात्रामा सुरक्षा व्यवस्था र स्रोत साधनको व्यवस्थापन गर्नुपर्ने हुन्छ । आउने चुनावका लागि मतपत्र छरितो बनाउने प्रयास गर्ने आयोगले जनाएको छ ।

 

Loading...