दक्षिणी चीनको ग्वाङ्सी प्रान्तमा बाढी पहिरोबाट ३७ लाख बढी मानिस प्रभावित

असार १२, काठमाडौं । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा प्रभावित भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार ग्वाङ्सीले यस वर्षको वर्षायाममा छ पटक भारी वर्षाको अनुभव गरेको छ । त्यहाँ औसत वर्षा ४९० दशमलव ८ मिलिमिटर रेकर्ड गरिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा १ दशमलव ६ गुणा बढी हो ।

यस क्षेत्रको बाढी नियन्त्रण तथा राहत कार्यक्रमले बाढी पहिरो र वर्षाका कारण आएको विपत्तिले तीन हजार ४३६ घर डुबानमा परेको र एक लाख ५९ हजार ३०० हेक्टर कृषियोग्य जमिनको क्षेत्रफलमा क्षति पुगेको जनाएको छ ।

प्रत्यक्ष आर्थिक नोक्सानी १२ दशमलव ४८ अर्ब युआन (लगभग १ दशमलव ८६ अर्ब अमेरिकी डलर) भन्दा बढी भइसकेको छ ।

यस क्षेत्रको बाढी नियन्त्रण राहतको केन्द्रीय कार्यालयका एक अधिकारीका अनुसार ग्वाङ्सीमा यस वर्ष अझै धेरै भारी वर्षा र आँधी आउनसक्ने अनुमान छ ।

Loading...