शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक: प्रा डा. सुवेदी

जेठ २९ ,काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा. भिमप्रसाद सुवेदीले नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको छ । विश्वविद्यालय अनुदान आयोग र मंगल बहुमुखी क्याम्पसद्वारा संयुक्त रुपमा आयोजित पाँच दिने कार्यशाला समापन कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । ‘‘नेपालमा अहिलेसम्म शिक्षा क्षेत्रमा शिक्षक र प्राध्यापकलाई विद्यार्थी सिकाउने विधिबारेमा मात्र केन्द्रित हुने चलन छ’’ उहाँले जोड दिएर भन्नुभयो, ‘‘विश्वमा शैक्षिक क्षेत्रमा आमूल परिवर्तन आइसकेको छ, नेपाल अहिलेसम्म विगतका शिक्षण सिकाइ विधिमा अल्झिरहेको छ । हामी पनि प्रतिस्पर्धी हुनु जरुरी छ ।’’ उहाँले विकासको लागि शिक्षा र शिक्षाको विकासको लागि विभिन्न क्षेत्रमा अनुसन्धान र अनुसन्धानमा आधारित लेखहरुको अपरिहार्यतामा जोड दिनुभयो । शैक्षिक क्षेत्रको विकासको लागि विकसित मुलुकमा १५ प्रतिशतसम्म बजेट छुट्याइने गरिएको चर्चा गर्नुहुँदै उहाँले नेपाल सरकारले आउँदो दिनमा शैक्षिक बजेट बढाउन माग गर्नुभयो । उहाँले शोधकार्य र अनुसन्धानत्मक लेखका विषयमा विदेशमा जानुपर्ने शोधार्थीहरुलाई सहज पार्ने सम्पूर्ण आर्थिक सहयोग गर्न आयोग तत्पर रहेको बताउनुभयो । मंगल बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्राडा. लक्ष्मीबहादुर महर्जन, कार्यशालाका संयोजनकर्ता प्राडा. श्यामकृष्ण महर्जन, क्याम्पस प्रमुख प्रदिप महर्जनले कार्यशालामा सिकेका ज्ञानलाई व्यहारिक रुपमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । कार्यशालामा गुणात्मक र मात्रात्मक तथ्यांकहरुलाई वैज्ञानिक विधिद्वारा विश्लेषण गर्ने विषयमा प्रशिक्षण दिइएको थियो । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा. हीराबहादुर महर्जनलगायत १५ जना विज्ञहरुले प्रशिक्षण दिनुभएको पाँचदिने कार्यशालामा विभिन्न क्याम्पसमा अध्यापनरत २० जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिइएको क्याम्पस संयोजक उपप्रा.डा. सिद्धीबहादुर महर्जनले जानकारी दिनुभयो ।

Loading...