बागमती सरकारको ६५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी

हेटौंडा।  बागमती प्रदेशले सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट ल्याउदैछ। जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो। चालू आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार बढाएर ६५ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ।

बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षमा प्रदेश सरकारको बजेट चालू आवको तुलनामा १० अर्बसम्म बढेर आउनसक्ने बताएका छन्। केहिदिन अघि हेटौंडामा आयोजित उद्योग वाणिज्य संघ बागमती प्रदेशको पाचौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदश सरकारको बजेट १० अर्बसम्म बढ्न सक्ने बताएका हुन्।

मुख्यमन्त्री पाण्डेले भने अनुसार १० अर्ब रुपैयाँ वृद्वि भए आगामी आर्थिक वर्षमा प्रदेश सरकारको बजेट ६७ अर्बको हाराहारीमा हुनेछ। प्रदेश सरकारका एक मन्त्रिले भने आगामी आर्थिक वर्षमा सरकारको बजेट ६५ अर्बको हाराहारीमा आउने बताए।