भक्तपुरका नगरवासीलाई मेयर प्रजापतिको पहिलो उपहार : मेलम्चीको पानी वितरण सुरुवात

भक्तपुर, १२ जेठ ।   भक्तपुरका नगरवासीले दोश्रो पटक पनि चुनेका सुनिल प्रजापतिले दोश्रो कार्यकालको पहिलो उपहार मेलम्ची खानेपानी वितरणबाट  सुरुवात गरेका छन्  ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति र केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्रहिमालय श्रेष्ठले आज बिहीबार दिउँसो १२ बजेको शुभ साइतमा संयुक्त रूपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरवासीहरुको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आएको स्मरण गरे । उनले भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु भएसँगै जनताहरु निकै खुसी भएको बताउनुभयो  ।

विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख सुनिल प्रजापति धन्यवादका मुख्य पात्र नै बने ।

हाललाई कटुञ्जेस्थित खानेपानी ट्यांकीबाट भक्तपुर नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ वडामा आजदेखि मेलम्चीको खानेपानी वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ  ।
 
Loading...