भरतपुरमा दाहाल र ललितपुरमा महर्जन दोहोरिए, वीरगन्जमा पनि गठबन्धनका सिंह विजयी

देशको ६ महानगरपालिका मध्ये थप चार महानगरपालिकाका अन्तिम परिणाम सार्वजनिक भएको छ । परिणामअनुसार भरतपुर, वीरगन्ज र ललितपुर र पोखरा महानगरपालिको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो भने यसअघि नै विराटनगरको नतिजा आइसकेको छ भने काठमाडौं महानगरमा मतगणना जारी छ ।

सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरमा प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट माओवादीकी रेनु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् । दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १२ हजार चार सय ४९ मतान्तरले पराजित गरिन् । दाहालले ५२ हजार २८ र सुवेदीले ३९ हजार पाँच सय २ मत प्राप्त गरेका छन् । स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार सात सय २ मत पाएका छन् । दाहाल निवर्तमान मेयर हुन् ।

महानगरपालिकाको उपमेयरमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राप्रपाकी हिमला गुरुङलाई २२ हजार एक सय ९१ मतान्तरले पराजित गरेका छन् ।

ललितपुरमा महर्जनले फेरि व्यञ्जनकारलाई हराए
ललितपुरमा भने मेयर गठबन्धनका र उपमेयर एमालेका विजयी भएका छन् । कांग्रेसका चिरिबाबु महर्जनले ४२ हजार सात सय २२ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार पाँच सय ६० मत पाए । राप्रपाका अष्टबहादुर महर्जनले पाँच हजार पाँच सय ५४ मत पाएका छन् ।

उपमेयरमा एमालेकी मञ्जली शाक्यले २५ हजार ४ मत पाउँदा गठबन्धनका उम्मेदवार माओवादीका बाबुराजा बज्राचार्यले १ हजार सात सय ५२ मत पाएका छन् । राप्रपाका स्वर्णिमा शाक्यले सात हजार सात सय ७८ र स्वतन्त्र अजरमान जोेशीले सात हजार २९ मत प्राप्त गरेका छन् ।

वीरगन्जमा सरावगी पराजित
वीरगन्ज महानगरको मेयरमा गठबन्धनका उम्मेदवार जसपाका राजेशमान सिंह ४६ हजार दुई सय १५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विजयकुमार सरावगीले २३ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगन्जका निवर्तमान नगरप्रमुख सरावगीलाई सिंहले २२ हजार पाँच सय ४४ मतान्तरले पराजित गरेका हुन् । राप्रपाका गिरीश गिरीले तीन हजार तीन सय १३ मत पाएका छन् ।

यसैगरी, उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार कांग्रेस इम्तियाज आलम ३० हजार ७८ ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोसपाका पुरुषोत्तमलाल झाले ६ हजार सात सय १९ मत प्राप्त गरेका छन् ।

पोखरा महानगरपालिकामा गठबन्धनकातर्फबाट मेयरमा उम्मेदवार बनेका एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएका छन् । मेयरमा विजयी आचार्यले ५८ हजार ८ सय ९३ र उपमेयर गुरुङले ६० हजार पाँच सय ४६ मत ल्याइन् । मेयरका निकटतम एमालेका कृष्ण थापालाई ६ हजार ४५ मत अन्तरले पराजित गदै आचार्य पोखराको १५ औँ मेयरमा निर्वाचित भएका हुन् । थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरे । पराजित एमालेका थापा गण्डकी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर मेयरको उम्मेदवार भएका थिए । थापा ०५४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखराको मेयरमा निर्वाचित भएका थिए ।

उपमेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई तीन हजार ८ सय ८३ मत अन्तरले पराजित गदै एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।११ पालिकामा मतपरिणाम घोषणा हुन बाँकी

६ महानगरपालिका मध्ये अब काठमाडौंको मात्र अन्तिम परिणाम आउन बाँकी रहेको काठमाडौं महानगरपालिकाको जारी मत गणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता झन् फराकिलो बन्दै गएको छ ।

बालेनले ५४ हजार ७३९ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ५७० तथा एमालेका केशव स्थापितले ३३ हजार ९२१ मत पाउनुभएको छ । बालेन र सिर्जनाबीच २० हजार १६९ सयभन्दा बढी मतको अन्तर छ ।

स्वतन्त्र उम्मेदवार बालेनले ५४ हजार ७३९ मत प्राप्त गर्नु भएको छ भने प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ५७० मत पाउनुभएको छ । बालेन र सिर्जनाबीच २० हजार १६९ सयभन्दा बढी मतको अन्तर छ ।

यसैगरी, मेयरका अर्का उम्मेदवार एमालेका केशव स्थापितले ३३ हजार ९२१ मत पाउनु भएको छ ।

स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न १० पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार सात सय ५३ मध्ये सात सय ४३ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना कार्य सम्पन्न भए पनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशको काठमाडौं महानगरपालिका, गण्डकी प्रदेशको पोखरा महानगरपालिका, प्रदेश १ को उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, मधेस प्रदेशको रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा–विजयपुर नगरपालिका, लुम्बिनी प्रदेशको दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका रहेका छन् । सुदूरपश्चिममा बाजुराको बुढीगंगा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी छ । आयोगको निर्णयपछि उदयपुरको त्रियुगामा मंगलबारदेखि मतगणना सुरु भएको छ ।

तुलसीपुर उपमहानगरको मतगणना अन्तिम चरणमा, एमाले जित नजिक
दाङ तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जम्मा ७४ हजार तीन सय ३६ मत खसेकोमा बुधबार विहान ७ बजेसम्म ७१ हजार एक ६६ मत गणना भएको छ ।अब तीन हजार एक सय ७० मत गन्न बाँकी छ । अहिलेसम्मको मतपरिणाम अनुसार नगर प्रमुखमा एमालेका टिकाराम खड्का ३३ हजार ६६ मतले अघि छन् ।

उनले ३० हजार ३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार काग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् । तुलसीपुरमा एमाले सुरुवातदेखि नै अग्रस्थानमा रहँदै आएको छ । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि छन् । उनले निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानालाई नौ हजार दुई सय एक मतान्तरले पछि पारेकी छिन् ।चौधरीले २९ हजार तीन सय ४५ मत प्राप्त गरेकी छिन्, भने रानाले २० हजार एक सय ४४ मत प्राप्त गरेका छन् ।

१९ वटा वडामध्ये अहिलेसम्म १७ वटा वडाको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म तुलसीपुरका ९ वटा वडा एमालेले जितेको छ, भने कांग्रेसले ४ र माओवादी केन्द्रले ३ वटा वडा जितेको छ । त्यस्तै एउटा वडा स्वतन्त्रले जितेको छ ।

अहिले वडा नम्बर १७ र १९ को मतगणना भइरहेको छ । तुलसीपुरमा यसअघि पनि एमाले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार चार सय ६० मतदाता रहेकोमा ७४ हजार तीन सय ३६ मत खसेको थियो ।

Loading...