किर्तिपुर नगर पालिका भित्रका विद्यालयमा आइतबार बिदा नहुने

जेठ ५ , काठमाडौँ  । किर्तिपुर नगर पालिका भित्रका विद्यालयमा आइतबार बिदा नहुने भएको छ  । कीर्तिपुर नगरपालिकाले बुधबार जेठ ४ गते एक सूचना प्रकाशित गर्दै कीर्तिपुर नगरपालिका क्षेत्रभित्रका विद्यालयहरु साविककै समय र दिनमा सञ्चालन हुने जनाएको छ । 

नगरपालिकाका शिक्षा शाखाका शाखाअधिकृत गोविन्दप्रसाद निरौलाले एक सूचना जारी गर्दै विद्यालयहरु आइतबारदेखि शुक्रबारसम्म नियमित र बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुने जनाएका हुन् ।

नेपाल सरकारले २०७९ वैशाख १३ गते एक निर्णय गर्दै २०७९ जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन साप्ताहिक सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सोअनुसार विद्यालयको समय बिहान ९ः३० देखि साँझ ५ः३० सम्म  सञ्चालन गर्ने र दुई दिन विदा गर्ने सरकारको निर्णय थियो । 

 जारी सूचनामा भनिएको छ, ‘…यस नगरपालिकाको अर्को सूचना प्रकाशित नभएसम्म साविक बमोजिम आइतबारदेखि शुक्रबारसम्म नियमित १० बजेदेखि ४ बजेसम्म नै विद्यालय गतिविधि सञ्चालन गर्न, गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।’ नगरपालिकाले कोभिड–१९ का कारण विद्यालयहरुको पठनपाठन नै अवरोध भइरहेको, नगरपालिकाको शैक्षिक क्यालेन्डर जारी भइसकेको र विद्यालयहरुका वार्षिक योजना तयार भइ कार्यारम्भ भइसकेको कारण आइतबार विदा गर्न नसकिने र दैनिक विद्यालय अवधि बढाउन नसकिने उल्लेख गरेको छ ।

सरकारले साप्ताहिक सार्वजनिक विदालाई दुई दिन बनाउने निर्णय गरे पनि यसको सबैभन्दा बढि मार विद्यालय क्षेत्रमा पर्ने देखिएको छ । यसअघि भक्तपुर नगरपालिकाले पनि यो निर्णय नमान्ने र साविकमै विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

सरकारको यो निर्णयको सर्वत्र विरोध पनि भइरहेको छ । विद्यालय क्षेत्रमात्रै नभएर निजामति कर्मचारीहरुले पनि दैनिक कार्यघण्टा थप हुँदा दैनिकी सञ्चालन गर्न असहज भएको प्रतिक्रिया दिएका छन् ।

Loading...