भारतीय प्रम मोदी भोलि लुम्बिनी आउँदै, प्रधानमन्त्री देउवा आजै पुगे लुम्बिनी

बुटवल । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भोलि जेठ ३ गते लुम्बिनी आइपुग्ने भएका छन् । २,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा सहभागिता जनाउनका लागि भारतीय प्रम मोदी लुम्बिनी आउन लागेका हुन् ।

यसैबीच नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षीको स्वागत तथा बुद्ध जयन्तीमा सहभागि हुनका लागि आजै लुम्बिनी पुगेका छन् ।

बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा मोदी सोमबार बिहान लुम्बिनी आउँदैछन् । मोदीको सुरक्षाका लागि स्पेसल प्रोटेक्सन गार्ड (एसपीजी)को टोली चार दिनअघि नै लुम्बिनी आइपुगेको छ । मोदी सोमबार बिहान ११ बजे हेलिकप्टरमा लुम्बिनी आउनेछन् ।
 
मोदीसहित भारतीय अतिथिहरु चारवटा हेलिकप्टरमा आउने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए । लुम्बिनी आइसकेपछि मोदीले  मायादेवी मन्दिरमा मार्कर स्टोनमा पुष्प अर्पण गरी पूजा गर्ने, पुष्करणि पोखरीको अवलोकन र अशोक स्तम्भ अगाडि दुईवटा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको त्रिपाठीले बताए । त्यसपछि मोदीले मायादेवी मन्दिरमा रहेको बोधीवृक्षमा जल अर्पण र आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
 
त्यसपछि मोदीले भारतको इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी)द्वारा निर्माण हुने बौद्ध बिहारको शिलान्यास गर्नेछन् । त्यसपछि लुम्बिनीमै रहेको होटल पवनमा केहीबेर बिश्राम गरेपछि त्यहीं प्रधानमन्त्री देउवासँग भेटवार्ता र पत्रकार सम्मेलनको आयोजना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए ।
 
पत्रकार सम्मेलनपछि मोदी लुम्बिनीमा नवनिर्मित ५ हजार जना क्षमताको सभाहलमा आयोजित २,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा भाग लिएर सम्बोधन गर्नेछन् । मोदी करिब ३ बजे भारत फर्किने कार्यक्रम रहेको भट्टराईले बताए ।
 
मोदी आउने भएपछि लुम्बिनीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतीय र नेपाली सुरक्षाकर्मीले लुम्बिनीमा संयुक्त गस्ती गरिरहेका छन् ।
Loading...