छाङरु र तिंकर जान झण्डै ८ सय जनाले लिए सिफारिस

दार्चुला । कालापानी नजिकको सीमा क्षेत्रका गाउँहरू छाङरु र तिंकर जानका लागि झण्डै ८ सय जनाले भारतीय प्रशासनको अनुमतिका लागि सिफारिस लिएका छन् ।

सीमा प्रशासन कार्यालय दार्चुलाका कार्यालय प्रमुख मोहन सिह धामीका अनुसार ७ सय ९६ जनाले उक्त क्षेत्रमा जान भारतीय बाटो प्रयोगका लागि सिफारिस लिएका छन् ।

नेपाल तर्फबाट बाटो नहुँदा सीमा क्षेत्रका बासिन्दाहरु भारतीय प्रशासनसँग अनुमति लिन बाध्य छन् । भारतले त्यस क्षेत्र सम्म पुग्नका लागि सडक पुगाएको भए पनि नेपाली क्षेत्रमा भने मान्छे हिड्न सक्ने बाटोसमेत छैन । त्यस क्षेत्र पुग्ने बाटो निर्माणका लागि नेपाली सेना परिचालन गरेर व्यास गाउँपालिका वडा नं १ घाटिबगडमा ५ सय ५० मिटर चट्टानी क्षेत्रमा विस्फोट गरेर बाटो निर्माण गरिएको थियो । तर भारतीय सडक निर्माण र महाकाली नदीको बहावले नेपाल तर्फको बाटो ठाउँठाउँमा भत्किएको छ ।

हाल व्यास गाउँपालिका वडा नं १ छाङरु र तिंकरका बासिन्दा कुञ्चा सरिरहेका छन् । हिउँदमा छ महिना दार्चुला सदरमुकाम खलंगा र गर्मी मौसममा छ महिना गाउँमा बस्ने त्यस क्षेत्रका नागरिकहरू आफ्नो गाउँघर पुग्न भारतको भरमा छन् ।

भारती प्रशासनबाट अनुमति लिएका छाङरु र तिंकरका शौका समुदाय भारतीय बाटो भएर थाकथलो गइरहेका छन् । घरपालुवा जनावर चौरीगाई झुपु, बाख्रा र खाद्यान्न बोकेर स्थानीहरु कुञ्चा सरिरहेको व्यास गाउँपालिका वडा नं १ का निर्वतमान वडाध्यक्ष अशोक सिह बोहराले बताए । स्थानीय तह निर्वाचनका लागि २५ र २६ गतेभित्र सबै नागरिक गाउँ जाने तयारीमा रहेको बोहराले बताए।

स्थानीय मात्रै नभएर त्यस क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरू समेत भारतसँग अनुमति लिएर जाने गरेका छन् । गर्मी मौसम सुरु भएसँगै छाङरु र तिंकरका ४ सय १६ जनाले भारतीय प्रशासनसँग बहुयात्रा अनुमति पत्र लिनका लागि सीमा प्रशासन कार्यालय दार्चुलाबाट सिफारिस लिएका छन् । त्यसैगरी ७८ जना सशस्त्र प्रहरी, २ जना नेपाल प्रहरी, जिल्ला भित्रका २ सय ५७ र जिल्ला बाहिरका ४३ जनागरी ७ सय ९६ जनाले बहुयात्रा अनुमतिका लागि सिफारिस लिएको सीमा प्रशासन कार्यालय दार्चुलाका प्रमुख मोहन सिंह धामीले बताए ।

सीमा प्रशासन कार्यालयको सिफारिस लिएर भारतको धार्चुला प्रशासनमा पुग्नेहरूले ४/५ दिनमा यात्राका लागि अनुमति पाइरहेका छन् । पछिल्लो समय राष्ट्रिय जनगणना भइरहेका बेला छाङरु र तिंकर जाने गणकलाई भारतीय बाटो प्रयोगमा रोक लगाइएको थियो । यस पटक भने भारतीय प्रशासनले यात्राका लागि अनुमति दिइरहेको कार्यालय प्रमुख धामीले बताए ।

भारतको धार्चुला तहशिलबाट करिब ८० किलोमिटर माथी रहेको छियालेकबाट नोटिफाइड क्षेत्र सुरु हुन्छ । त्यस क्षेत्र भन्दा माथिल्लो क्षेत्रमा प्रवेश गर्ने जोसुकैले पनि भारतको धार्चुला तहशिलबाट अनुमति लिनुपर्ने हुन्छ । त्यस क्षेत्रमा बसोबास गर्ने भारतीय नागरिकहरु भने परिचय पत्रका आधारमा पनि प्रवेश पाउँछन् । नेपालको छाङरु गाउँ प्रवेश गर्ने सितापुल छियोकबाट करिब ४ किलोमिटर माथी छ ।

Loading...