निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ, कांग्रेस र माओवादी केन्द्रसँग जवाफ माग

बैशाख २१, काठमाण्डौ –  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ । साथै सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग जवाफ समेत माग गरेको छ ।

निर्वाचनमा प्रचार गरिएको पर्चाको विषयलाई लिएर आयोगले कांग्रेसलाई तीन दिनभित्र जानकारीसहितको जवाफ माग गरेको गरेको हो । पार्टीको केन्द्रीय प्रचार प्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख चिन्हमा मतदान गरौँ’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिएको हुँदा पर्चा राखेको हो वा होइन भनी आयोगले कांग्रेससँग जवाफ माग गरेको हो ।

त्यस्तै माओवादी केन्द्रसँग पनि निर्वाचन आयोगको जवाफ माग गरेको छ । आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै आयोगले नेकपा (माओवादी केन्द्र) काठमाण्डौसँग जवाफ माग गरेको हो । माओवादी केन्द्र कलैया उपमहानगरपालिका–२३ का वडाअध्यक्ष विक्रम साह लगायतका व्यक्तिले चुनाव चिह्न अङ्कित टिसर्टसहित प्रचारमा देखिएको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएको भन्दै आयोगले जवाफ माग गरेको छ ।

त्यसैगरी आयोगले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० नम्बर वडाका अध्यक्ष पदका उम्मेदवार अमृत खनाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । खनालले मतदाताको खुट्टामा एक हजारको नोट राखेर भोट मागेको फोटो सार्वजनिक भएको भन्दै आयोगले स्पष्टीकरण माग गरेको हो । निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई पनि निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री मोक्तान चुनावी प्रचारमा निरन्तर खटिएको फोटोसहितको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन भएपछि उहाँलाई त्यसबारेमा के भएको हो आधार प्रमाणसहित आयोगलाई स्पष्ट गर्न भनिएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । दलीय चुनावी प्रचार प्रसारमा खटिएको फोटोसहितको समाचार प्रकाशन भएपछि आयोगले उहाँलाई २४ घण्टाको समय दिएर स्पष्टीकरण पेश गर्न भनेको छ । आयोगले कपिलबस्तुको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक प्रल्हाद पाण्डेलाई पनि दलीय चुनावी प्रचार प्रसारमा संलग्न रहेको भन्दै तीन दिनभित्र जवाफ पेश गर्न आदेश गरेको छ । पाण्डे चुनावी प्रचार प्रसारमा संलग्न रहेको फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि आयोगले उहाँसँग जवाफ माग गरेको हो ।

Loading...