जापानमा कर्णाली प्रदेश समाजले फुटसल प्रतियाेगिता गर्दै

कियो । कर्णाली प्रदेश समाज जापानले जापानको टोकियोमा प्रथम रारा गोल्डकप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । कर्णालीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी मे १ तारिखका दिन प्रतियोगिता आयोजना गरिने भएको हो ।

टोकियो हाचिओजिस्थित फुटसल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले जानकारी दिए । प्रतियोगिताले कर्णालीको पर्यटन क्षेत्रको विकास र प्रचार-प्रसारमा मद्दत पुग्ने उनको विश्वास छ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले ३ लाख ३ हजार ३३३ येनसहित मेडल र प्रमाणपत्र हात पार्नेछ भने दोस्रो हुने टीमलाई १ लाख ७५ हजार ५५५ येनसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै उत्कृष्ट खेलाडीलाई लाइभ टिभी प्रदान गरिनेछ भने, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक र अनुशासित खेलाडीलाई ५५ हजार येन दिइनेछ ।

अध्यक्ष शाहीकाअनुसार यही अप्रिल २५ तारिखसम्म टीम दर्ता गर्न सकिनेछ भने दर्ता शुल्क ३५ हजार येन राखिएको छ । कर्णाली जन्म थलोभई जापानलाई कर्म थलो बनाएका कर्णालीका युवाहरूको सामूहिक प्रयासमा प्रतियोगिता सञ्चालन हुने भएको हो । कर्णाली प्रदेश समाज जापान स्थापनाकालदेखि नै सामाजिक कार्यमा संलग्न हुँदै आएको छ ।

Loading...