माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकतासम्बन्धी मुद्दामा एकै पटक अन्तिम सुनुवाइ हुने

फागुन २९,काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माधव नेपालसहित १४ सांसदविरुद्ध वैधानिकताको सम्बन्धीमा  दायर गरेको रिटलाई सर्वोच्च अदालतले पूर्ण सुनुवाइका लागि पठाउन आदेश गरेको छ ।
न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उक्त  मुद्दाको लिखित जवाफ आइसकेको भन्दै अन्तिम सुनुवाइका लागि आदेश दिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधि, विधानविपरीत काम गरेको भन्दै १४ जना सांसदमाथि कारबाहीकाे मागसहित सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो ।

अदालतले नेपालसहित १४ सांसदलाई माथि पार्टी गरेको कारबाही सभामुख अग्नीप्रसाद सापकोटाले कार्यान्वयन नगरेको, पार्टी विभाजनका लागि झलनाथ खनालसहितका नेताहरुले गरेको सनाखतलाई मान्यता नदिन र लुम्बिनीका सांसदहरु विमला खत्री वली र अजय शाहीमाथि गरेको कारबाहीअनुसार सूचना टाँस गरिनुपर्ने लगायतका विषयको मुद्दा एकै ठाउँमा हेर्दैछ ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार साप्ताहिक सूचना र पेशीमा प्रकाशित भएपछि यसको मिति चढ्छ । कहिले, कुन बार कुन मुद्दा चढ्छ भन्ने कुराले पनि यो निर्धारण हुने छ  ।