काठमाण्डौ–तराई द्रुतमार्ग सुरूङ निर्माणको काम दुई सिफ्टमा गर्न निर्देशन

फागुन २५, काठमाण्डौ –
राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा उच्च प्राथमिकतामा रहेको काठमाण्डौ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा सुरुङ निर्माणको काम दुई सिफ्टमा गर्न निर्देशन भएको छ । आयोजना नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको छ ।

प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधीन काठमाण्डौ–तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाको स्थलगत निरीक्षण गर्दै गुणस्तर र समयसीमाको पनि ख्याल राख्न निर्देशन दिनुभयो । उहाँहरूले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरा शिविर र सडकखण्डको कार्य प्रगतिबारे स्थलगत जानकारी लिनुभएको हो । निर्माणाधीन महादेवटार सुरुङ खण्ड (प्याकेज एक) र लेनडाँडा–धेद्रे सुरुङ खण्ड (प्याकेज २) ठेक्का सम्झौताअनुरूप अधिकतम जनशक्ति र आवश्यक मेशिनरी उपकरणको परिचालन गर्दै गुणस्तर कायम गरी समयसीमाभित्र कार्य जिम्मेवारी पूरा गर्न उहाँहरूले ठेकेदार, परामर्शदाता र परियोजना पदाधिकारीलाई निर्देशन दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।