एमालेले गर्यो गाउँपालिका उपाध्यक्षलाई कारवाही

बैतडी ः नेकपा एमाले बैतडीले जिल्लाको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई कारवाही गरेको छ। एमालेले चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हित विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो। मंगलबार जारी गरिएको प्रेस विज्ञप्तीमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको छ।

माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनमा स्थानीय तहका पाँच जना प्रमुख÷उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानविन गरी कारबाही गर्न निर्देशन दिएको थियो।

‘पार्टीको निर्देशन बमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र वेवास्ता गर्दै हिड्ने, सामाजिक सञ्जालमा पार्टीको नीति, नेतृत्वबिरुद्ध जाने र बिरोधी पार्टीसँग साठगाठ गरी पदीय आचरणको दुरुपयोग गरेको भेटिएको जिल्ला अध्यक्ष सुरेन्द्र पाल र सचिव चक्र कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ।

यस्तै पार्टीलाई बुझाउनुपर्ने लेबी समेत नबुझाएको, पार्टीको हित विपरीत काम गरेको र स्पष्टीकरण सोध्दा समेत नदिएकोले चन्दमाथि कारवाही गरिएको जनाएको छ।

यसैबीच नेकपा एमालेबाट कारबाहीमा परेकी चन्दले एमालेलाई सामन्तवादीको संज्ञा दिएकी छन्। एमालेले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नाका लागि आजको दिन ऐतिहासिक भएको भनेकी छन्।

Loading...