काठमाडौँ महानगरको ७६ लाख रकमको सहयोगमा अन्नपूर्ण देवी (असं भलु अजिमा) को देवघर पुननिर्माण हुने 

फागुन २०,काठमाडौँ ।  काठमाडौँ महानगरको ७६ लाख रकमको सहयोगमा महानगरको वडा २७ भोटाहिटीमा रहेको  अन्नपूर्ण देवी (असं भलु अजिमा) को देवघर पुननिर्माण हुने भएको छ।   देव घर पुनः निर्मण गर्न आज महानगरका मेयर विद्यासुन्दर शाक्य तथा उप-मेयर हरिप्रभा श्रेष्ठ खड्गीले संयुक्त  शिलान्यास गर्नुभएको हो । यस देव घरमा असन चोकमा रहेकी अन्नपूर्ण अजिमाका गरगहना, देवीको जात्रामा निकालिने मूर्तिहरु, त्यससँग सम्बन्धित बाजागाजा र सामग्री राख्ने गरिन्छ । यस्तै बाजा प्रशिक्षण, सम्बन्धित गुठीयारहरुको बैठकलगायतका काममा घरको प्रयोग हुने गरेको छ । महानगरले यसको पुननिर्माणका लागि पहिले नै प्रयास गरेको थियो । गुठीयारविच भएको मतभेदका कारण काम अघि बढ्न सकेको थिएन ।
शिलान्या कार्येक्रममा  बोल्दै मेयर शाक्यले, सांस्कृतिक सम्पदाहरुको मर्मत सम्भार र पुननिर्माणका लागि गुठीयारको स्रोतले नपुग्ने देखेपछि राज्यकातर्फबाट महानगरले सहयोग गरेको उल्लेख गर्नुभयो ।
सम्पदा पुननिर्माणमा आफुहरुको कार्यकालमा जति अरु समयमा काम नभएको भन्दै  भित्री र बाहिरी सहरी बस्तीको अवस्था, सामाजिक परिवेशअनुसार नवनिर्माण र पुननिर्माणमा काम गरेको उनको भनाइ रहेको छ।

यसै क्रममा उप -मेयर खड्गीले भन्नुभयो, ‘ हामीले सम्पदा बचाउन लिएको नीति कार्यान्वयन भएको छ । यसका परिणामहरु आउन छन् । बाँकी रहेका सम्पदा बचाउनु र नासिएकालाई पुनस्र्थापना गर्नुलाई हामीले जिम्मेवारीका रुपमा लिएर काम गरिरहेका छौँ ।’
भित्री सहरी क्षेत्रमा काठमाडौँको मौलिक परम्परासँग जोडिएका बस्ती छन् । भौतिक संरचना छन् । तिनलाई जोगाउनु हाम्रो प्रमुख काम हो । वडाध्यक्ष चिनियाँमान बज्राचार्य भन्नुहुन्छ, ‘जीर्ण भएर बनाउनु पर्ने अवस्थामा पुगेका सबैजसोमा काम थालिएको छ । कतिपयको पुननिर्माण सकिएको छ भने कतिपय निर्माण सम्पन्नताको चरणमा छन् ।’

असं भलु अजिमासँग सम्बन्धित धार्मिक सांस्कृतिक गतिविधिहरु ज्यापू, तुलाधर, शाक्य र बज्राचार्यले सञ्चालन गर्छन् ।
देवघरको पुननिर्माण अन्नपूर्ण द्यः छेँ उपभोक्ता समितिले गर्नेछ । समितिका अध्यक्ष रमेश महर्जनकाअनुसार देव घरको पुननिर्माण २०७९ पुस मसान्तसम्ममा सक्ने लक्ष्य छ । २ आना २ दाम जग्गामा निर्माण हुने भवन ४ तलाको हुनेछ ।
महर्जनकाअनुसार नेपाल संवत ९३१ मा देवघर पुननिर्माण भएको शिलापत्र पाइएको छ ।

Loading...