चोरी गरी अमेरिका पु-याइएका तीन नेपाली पुरातात्त्विक महत्त्वका सामग्री फिर्ता

फागुन २० काठमाडौँ  । चोरी गरी अमेरिका पु-याइएका पुरातात्त्विक महत्त्वका तीन नेपाली सामग्री नेपाल फिर्ता ल्याइएको छ । अमेरिकाको रुबिन म्युजियम अफ आर्टमा रहेका दुई सामग्री सोही सङ्ग्रहालयका पदाधिकारीले व्यक्तिगत खर्चमै नेपाल ल्याइदिएका हुन् । अमेरिकाको न्युयोर्क म्यानहट्टनस्थित तिबेत हाउस ग्यालरीमा रहेको अर्काे एउटा सामग्री पनि फिर्ता ल्याइएको छ । तिनलाई हवाई मार्गबाट नेपाल ल्याइएको हो ।

न्युयोर्कस्थित रुबिन म्युजियम अफ आर्टबाट १७औँ शताब्दीको कलात्मक काष्ठ तोरण र १४औँ शताब्दीको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काठको कलात्मक वस्तु फिर्ता ल्याइएको छ । तोरण ललितपुरको यम्पी महाविहारको प्रवेशद्वारमाथि रहेकोमा मर्मतका क्रममा झिकिएको र सन् १९८५ पछि चोरी भएको पुरातत्त्व विभागले जानकारी दिएको छ । उडिरहेको गन्धर्वको आकृति काठमाडौँ महानगरपालिका–२४ स्थित इटुम्बहालको बाकुझ्यालको तल्लो भागमा रहेको थियो । यो सन् १९९७ मा चोरी भएको थियो ।

यी सामग्री उपहारका रूपमा सो सङ्ग्रहालयले प्राप्त गरेको थियो । तिनलाई स्वैच्छिक रूपमा नेपाललाई फिर्ता दिन सङ्ग्रहालयले न्युयोर्कस्थित नेपाली कार्यवाहक महावाणिज्य दूतसमक्ष पत्राचार गरेको थियो । महावाणिज्य दूत र सङ्ग्रहालयबीच सम्झौता भई नेपालमा फिर्ता ल्याइएको हो । सङ्ग्रहालयका कार्यकारी निर्देशक डा. जोरिट बिच्गी र सङ्कलन निर्देशक मिसेल बेनेट सिमोरेलाले व्यक्तिगत २० हजार अमेरिकी डलर खर्च गरी नेपालमा ल्याइदिनुभएको हो ।

त्यस्तै तिबेत हाउस ग्यालरीमा रहेको ध्यान मुद्रामा रहेको प्रस्तरको बुद्धमूर्ति फिर्ता ल्याइएको छ । १३औँ शताब्दीको मल्लकालीन सो मूर्तिलाई श्री सभानन्द नाम गरेका भिक्षुले संरक्षण गर्न दिएकोमा काठमाडौँको ओमबहालस्थित न्हुछेँबहालबाट कसैले चोरेर अमेरिका पु-याएको थियो ।
सो मूर्ति पनि न्युयोर्कस्थित महावाणिज्य दूतावासलाई हस्तान्तरण गरिएपछि नेपाल फिर्ता आउन सम्भव भएको थियो । पुरातत्त्व विभागका अनुसार बुद्धको मूर्तिको मूल्य अनुमानित ३० हजार अमेरिकी डलर, कलात्मक तोरणको एक लाख १० हजार अमेरिकी डलर र गन्धर्वको आकृतिको मूल्य अनुमानित २२ हजार अमेरिकी डलर रहेको छ ।

नेपालबाट सन् १९७० देखि १९९० का दशकमा धेरै सङ्ख्यामा सांस्कृतिक सम्पदा चोरी भएको थियो । सन् २००० देखि यस्ता सामग्रीको चोरी वा निकासी कम हुँदै आएको छ । हालसम्म बेलायतबाट १९ थान, अस्ट्रियाबाट एक थान, अमेरिकाबाट १४ थान, तिब्बतबाट २८ थान, कोलकाताबाट १३ थान, जर्मनीबाट एक थान गरी ७६ थान मूर्ति तथा कला सामग्री नेपाल फिर्ता भइसकेका छन् । अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्सलगायतका मुलुकमा अझै थुप्रै यस्ता सामग्री छन् र तिनलाई फिर्ता ल्याउन कूटनीतिक पहल भइरहेको छ ।

अमेरिकाबाट फिर्ता ल्याइएका सामग्री हस्तान्तरण गर्न बुधबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले व्यक्तिगत प्रयासमा चोरिएका सम्पदालाई नेपाल फिर्ता गराउन सहयोग पु-याएकोमा अमेरिकी सङ्ग्रहालय प्रमुखलाई धन्यवाद दिनुभयो ।
मन्त्रालयका सचिव महेश्वर न्यौपानेले विदेशी सङ्ग्रहालयमा रहेका अन्य सामग्रीलाई नेपाल फिर्ता ल्याउन प्रमाण जुटाउने कार्य भइरहेको बताउनुभयो । पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले नेपालमा फिर्ता ल्याइएका सम्पदालाई साबिककै स्थानमा प्रतिस्थापन गरिने बताउनुभयो ।

 

 

 

 

gorkhapatraonlineमा योखाबर छ – 

Loading...