स्थानीय तहको निर्वाचनका लागि १० वटा दल निर्वाचन आयोगमा दर्ता

फागुन ९, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि हालसम्म १० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।

 आयोगमा दर्ता भएका जम्मा १०९ वटा विभिन्न दलमध्ये आइतबारसम्ममा १० वटा दलले मात्रै स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका हुन् ।

राजनीतिक दलहरुलाई आयोगले फागुन ५ गते ११ दिनको समय सिमा तोकेर दल दर्ताको लागि निवेदन पेश गर्न आह्वान गरेकोथियो ।

राजनीतिक दलहरु निर्वाचन प्रयोजनका लागि दर्ताका लागि आउने क्रम जारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो ।

निर्वाचन प्रयोजनका लागि जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराइ मधेश लोकतान्त्रिक पार्टी, मौलिक ज्वरो किलो पार्टीले स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका हुन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टीले (लोसपा)ले मात्रै पहिलेदेखि नै प्रयोग गर्दै आएको चुनाव चिह्न पाउनेछन् ।

 

Loading...