म्युजिक भिडियो फापेका पल चल्लान् त हलमा?

काठमाडौं, ७ फागुन । पल शाह केही दिन यता आफ्नो प्रदर्शनोन्मुख फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रमोसनमा व्यस्त छन्। फागुन १३ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई लिएर निर्माण पक्षले प्रचारका विभिन्न शैलीहरु अपनाएको छ।

निर्माण पक्ष फिल्मका अभिनेता र अभिनेत्रीसँग कहिले सिनेमा हलमा पुगिरहेको छ त कहिले फरक फरक भाषाका म्युजिक भिडियो निर्माण गरेर फिल्मको प्रचार गरिरहेको छ।

पलले ‘म यस्तो गीत गाउँछु २’मार्फत तीन वर्षपछि सिनेमा हलमा देखिने जमर्को गर्दैछन्। यसअघि उनको ‘वीर विक्रम २’ चलचित्र प्रदर्शनमा आएको थियो। उक्त फिल्म त्यतिबेला प्रदीप भट्टराईको निर्देशनमा बनेको ‘जात्रै जात्रा’सँग प्रदर्शनमा आएको थियो। सिनेमा हलमा मल्टिप्लक्सबीच जात्रै जात्राले राम्रो व्यापार गरेको थियो भने एकल पर्दामा वीर विक्रम २ को व्यापार राम्रो थियो।

 

म्युजिक भिडियोबाटै सिनेमामा प्रवेश गरेका पलले हालसम्म खेलेका फिल्मभन्दा बढी म्युजिक भिडियो चर्चामा छन्। पछिल्लो तीन वर्षमा पल फिल्मको पर्दामा पनि देखिएका छैनन्। तर, योबीच उनलाई म्युजिक भिडियो भने निकै फापेको छ।

ठूलो पर्दामा पलको इतिहास हेर्ने हो भने पनि उनले ठीकैको चर्चा कमाएका छन्। उनले अभिनय गरेका फिल्महरु ‘ब्लकबस्टर’ नै पनि भन्न नमिल्ने र ‘फ्लप’ पनि भन्न नमिल्ने अवस्थाका छन्। समग्रमा हेर्दा पलले अभिनय गरेका फिल्महरुले सिनेमा हलमा राम्रै आम्दानी गरेको देखिन्छ।

 

तर, तीन वर्षको अन्तरालपछि फेरि ठूलो पर्दामा देखिन लागेका पलको आगामी फिल्म ‘म यस्तो गीत गाउँछु २’मा भने उनले म्युजिक भिडियोमा पाएको चर्चा पाउनेरनपाउने जोखिम छ। फिल्मका गीतहरु निकै हिट भइसकेका छन्। प्रचारमा पनि उनीहरुले म्युजिक भिडियोलाई नै छानेका छन्। त्यसमाथि फिल्म पनि सांगीतिक विषयकै रहेको छ।

यसबीच तीन वर्षसम्म पलले म्युजिक भिडियोमा कमाएको चर्चा र दर्शकलाई फिल्मले हलसम्म तान्छ तान्दैन, हेर्न बाँकी नै छ। तर, म्युजिक भिडियोबाटै राम्रो आम्दानी र चर्चा कमाइरहेका पलले पहिलेका फिल्म जस्तै ठीकैको मात्र चर्चा पाउने जोखिम पनि देखिन्छ।

म्युजिक भिडियोमा पाएजस्तो दर्शकको साथ र चर्चा फिल्ममा नै पाएनन् भने त पललाई कसरी सन्तुष्टी होला र ?

Loading...