शिक्षामन्त्रीको उपस्थितिमा शान्ति शिक्षा मन्दिरको अत्याधुनिक भवन हस्तान्तरण

काठमाडौं । काठमाडौंको मुटु ठहिटीस्थित शान्ति शिक्षा मन्दिर माविको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कम्पनीले भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा एक कार्यक्रम गरी भवन हस्तान्तरण गरिएको हो । भवन हस्तान्तरण कार्यक्रममा नेपाल सरकार, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख रामशरण सापकोटा, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका प्रमुख अर्जुन रायमाझी, समन्वय इकाई काठमाडौंका प्रमुख नन्दलाल पौडेल, कामनपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदी, विद्यालयका संस्थापक प्रतिनिधि नारायणदास मानन्धर, इन्जिनियर सागर पौडेल, कन्ट्याक्टर दिपेन्द्र खड्का, इन्जिनीयर केशव गिरी, इजरायली दुतावासका काठमाडौं प्रतिनिधी रेश्मा जोशी लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

एशियाली विकास बैंक तथा नेपाल सरकारको संयुक्त परियोजना अनुसार यो भवन निर्माण भएको हो । २३ कोठे नयाँ भवनमा कम्प्युटर ल्याब, पुस्तकालय, प्राथमिक उपचार कक्ष लगायतका सुविधाहरु रहेका छन ।

विसं २००७ सालमा स्थापित काठमाडौंको पुरानो विद्यालयमध्ये एक शान्ति शिक्षा मन्दिरको भवन २०७२ सालको भुकम्पका कारण क्षतिग्रस्त भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यार्थीहरुलाई सक्षम बनाउन शिक्षण सिकाई प्रक्रिया, विद्यार्थीहरुको भविष्यको लागि, विद्यालयका विभिन्न कार्यक्रमहरुलाई सवलिकरण गराउने कार्य चुनौती र आवश्यक रहेको बताए । सार्वजनिक विद्यालयहरु सक्षम छन्, योग्य छन् र राज्यले लगानी गरेका विद्यालयहरु गुणस्तरीय शिक्षा दिन सक्षम छन् भन्ने कुराको प्रत्याभूति दिन सक्ने हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रमका सभापति कामपा वडा नं. १७ का अध्यक्ष नविन मानन्धरले ‘टोलटोलमा विद्यालय, घरघरमा शिक्षा’ भन्ने नारा सहित स्थापना भएको उल्लेख गर्दै अहिले सुविधा सम्पन्न भवन निर्माण भएकोमा खुसी व्यक्त गरे । मानव जीवनमा सबैभन्दा ठूलो स्वास्थ्य रहेको र त्यसको लागि शिक्षा अत्यावश्यक भएको पनि उनको भनाई थियो । सामुदायिक विद्यालयलाई सरोकारवाला निकायहरुले सहयोग तथा समन्वय गरी सुधार गर्दै लानुपर्ने उनले बताए । त्यसका लागि भवन मात्र नभई, विद्यालयको व्यवस्थापन तथा शिक्षकहरुको लागि राम्रो तालिम तथा अन्य व्यवस्था हुनु जरुरी रहेको उनको भनाई थियो ।

शिक्षा विकास तथा समन्वय ईकाई काठमाडौका प्रमुख नन्दलाल पौडेलले हस्तान्तरण फारम तथा नेपाल सरकार, केन्द्रीय आयोजना कार्यान्वयन ईकाई प्रमुख रामशरण सापकोटाले चाबी हस्तान्तरण गर्दै आगामी दिनमा देशकै नमूना बिद्यालयको रुपमा रहेको देख्न पाईयोस भन्ने शुभकामना व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक सुदामप्रसाद गौतमले भवन हस्तान्तरण कार्यक्रममा विद्यालयको विगत तथा वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । उनले भुकम्पका कारण विद्यालय भवन जिर्ण भएपछि केही समय विभिन्न दाताहरुको सहयोगमा टहरामा पठनपाठन गराइएको उनले बताए । त्यतिबेला मारवाडि सेवा समिति, इजरायली दुतावास, संघीय सांसद रामविर मानन्धर, प्रदेश सांसद वसन्त मानन्धर, ईश्वरलाल फाउन्डेशन, साल्ट ट्रेडिङ कम्पनी, रोटरी ठमेल, कामनपा वार्डं १७ लगायत अन्य धेरै संघ संस्था तथा व्यक्तिहरुको सहयोगमा न्यूनतम भौतिक पूर्वाधारबाट निर्माण गरेर पठनपाठन सूचारु गरिएको उनले बताए ।

प्रधानाध्यापक गौतमले कुनै समय बन्द नै हुने अवस्थामा पुगेको विद्यालयलाई सबैको सहयोगमा पुनः नयाँ ठाउँमा पुर्याउन सकिएकोमा खुसी व्यक्त गरे । उनले अहिले विद्यार्थी संख्या पनि क्रमशः वृद्धि हुँदै गइरहेको जानकारी दिए । एशियाली विकास बैंकको सहयोगमा निर्माण सम्पन्न भएको नवनिर्मित भवनबाट अझ गुणस्तरीय तथा प्रभावकारी शिक्षा प्रदान गर्न सकिनेमा उनले विश्वास व्यक्त गरे । साथै उनले विद्यालयलाई यो अवस्थासम्म पु¥याउन विद्यालयका संस्थापक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्व. लक्ष्मीदास मानन्धरको अतुलनीय योगदान रहेको र स्व। मानन्धरलाई विद्यालयले सधै सम्झिरहने बताए ।

भवन हस्तान्तरण कार्यक्रमका अवसरमा बोदै विद्यालयका संस्थापक प्रतिनिधि नारायणदास मानन्धरले आफ्नो बुवा स्व. लक्ष्मीदास मानन्धरले स्थानीय जनतालाई स्थानीय विद्यालयमा पठनपाठन गराउने उद्देश्यले विद्यालय स्थापनामा महत्वपूर्ण भूमिका खेलेको बताए ।

प्रमुख अतिथि मन्त्रीले भवन उदघाटन गरेपछि सबैले नव निर्मित भवनको अवलोकन गरेका थिए । कार्यक्रममा भवन निर्माण कार्यमा सहयोग पु¥याउनुने संघसंस्था तथा व्यक्तित्वहरुलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । विद्यालयमा हाल शिशुु कक्षादेखि १२ कक्षासम्म संचालन हुँदै आएको छ ।

Loading...