विश्वकप छनोट : बलिङ चम्किंदा नेपालको विजयी सुरुवात

काठमाडौं, ६ फागुन । ओमानमा जारी टी–२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत नेपालले पहिलो खेलमा विजय हासिल गरेको छ । नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको हो ।

नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ‌ओमान १७ ओभरमा ७८ रनमै अलआउट भयो । ओमानका लागि मध्यक्रमका नासिम खुसीले २४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । जतिन्दर सिंह र अरिम कलिमले समान ९–९, खवार अलीले ७ रन मात्र बनाउन सके ।

सुरुवातदेखि नै उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट, कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।

यसअघि ओमानको अल अमिरात रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए ।

Loading...