काडमाडौंमा भेटिएका दुइटा ‘होक्स बम’ निष्क्रिय

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा भेटिएका बमजस्तो दुइटा शंकास्पद वस्तु​ निष्क्रिय पारिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार कालिका पेट्रोल पम्पनजिकै जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकर नेपाली सेनाको टोलीले केही बेरअघि डिस्पोज (निष्क्रिय) गरेकाे हाे। ‘दुइटै होक्स बम (नक्कली बम) रहेछन्’, उनले भने।

जेब्रा झोला र चामलको बोरामा भेटिएका प्रेसर कुकर डिस्पोज गर्दा एउटामा नुनजस्तो पदार्थ र अर्काे भने खाली पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शंकास्पद वस्तु देखिएपछि शुक्रबार बिहानै स्थानीयले खबर गरेका थिए। त्यो हटाउने बेला केही बेर कलंकी–नागढुंगा सडकमा यातायात अवरुद्ध गरिएको थियो।

अहिले स्थिति सामान्य भइसकेकाे एसपी मैनालीले जानकारी दिए। कसैले तर्साउन ‘होक्स बम’ छाडेको अनुमानसहित प्रहरीले घटना अनुसन्धान गरिरहेको छ।

Loading...