बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

काठमाडौ, ५ फागुन । काठमाडौं बालाजुमा बिहीबार बिहान बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–५ घर भइ काठमाण्डौको मनमैजु बस्ने १८ वर्षीय विकास तामाङ र अन्दाजी ५० वर्षीया महिला रहेका छन् । मृतक महिलाको भने सनाखत हुन बाँकी रहेको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । बिहीबार बिहान ६ बजे माछापोखरीबाट बालाजुतर्फ जाँदै गरेको नम्बर नखुलेको बसले पैदल हिँडिरहेका उनीहरुलाई ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात बससहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

Loading...