प्रचण्ड र कलाकारहरुबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं, ५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कलाकर्मीहरुले भेट गरेका छन् । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान गायक राजेशपायल राई, हास्य कलाकार सन्दीप क्षेत्री, मोडल करिश्मा ढकाल लगायतले भेट गरेका हुन् ।

भेटमा प्रचण्डसँग नेपाली संगीत र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा कुराकानी भएको गायक राजेशपायल राईले जानकारी दिए । ‘प्रचण्डजीले भेट्न खोज्नु भएको छ भन्ने खबर मलाई दुई हप्ताअघि नै आएको थियो । म आफैं पनि समय व्यस्तताका कारण भेट्न पाइरहेको थिइनँ । नेपाली कलाकार र संगीतलाई माया गर्ने नेता भएका कारणले पनि भेटघाट भएको हो । विशेषगरी मैले उहासँग नेपाली गीतसंगीतको विकासका लागि के गर्न सकिन्छ भन्ने विषयमा नै कुराकानी गरें,’ उनले भने ।

प्रचण्डसँग पछिल्लो राजनीतिक घटनाक्रम र एमसीसीको विषयमा पनि आफूहरुले चासो राखेको राजेशपायलले बताए ।

यस्तै, कलाकार सन्दीप क्षेत्रीले प्रचण्डसँग समसामयिक विषयमा नै कुराकानी भएको बताए । उनले भने, ‘हामी कलाकार भएको नाताले नेताहरुसँग भेटघाट हुनु सामान्य नै हो । उहाँसँग मैले नेपाली कलाकारिता क्षेत्रको विषयमा नै कुरा गरेको हुँ ।’


पार्टी प्रवेश गर्ने योजना त छैन नि भन्ने प्रश्नमा सन्दीपले भने, ‘म सबै पार्टीको हुँ । आजसम्म कुनै पनि पार्टीको सदस्यता लिएको छैन ।’

Loading...