करोडौं डलर ठगेका हलिउड अभिनेतालाई २० वर्ष जेल

काठमाडौं, ५ फागुन । बहुचर्चित पोन्जी घोटालामा मुछिएका हलिउड अभिनेता जाकारी होर्विट्जलाई २० वर्षको जेल सजाय सुनाइएको छ ।

सोमबार अमेरिकाको न्याय मन्त्रालयले पोन्जी स्किम समेत भनेर चिनिने करोडौं डलर बराबरको घोटाला काण्डमा मुछिएका होर्विट्जलाई २० वर्षको जेल सजाय सुनाएको हो । त्यस्तै उनले क्षतिपूर्ति स्वरुप २३ करोड डलर तिर्नुपर्ने भएको छ ।

होर्विट्जले अक्टोबरमा धोकाधडी एवं ठगीसम्बन्धी एक आरोप स्वीकार्दै पोन्जी स्किम सञ्चालन गरेको बताएका थिए । उनीमाथि संकलित पैसा निजी खातामा जम्मा गरी ५७ लाख डलरमा घर किनेको, लस भेगासमा मोजमस्ती गरेको र चार्टर जहाजमा यात्रा गरेको आरोप लगाइएको थियो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा एचबीओ र नेटफ्लिक्सले विदेशमा वितरण गर्ने भनिएका चलचित्रका लागि अनुमति पत्र प्राप्त गर्न लगानीकर्ताको पैसा प्रयोग गरिने नक्कली दाबीसहित उनले ६५ करोड डलर संकलन गरेको उल्लेख छ ।

केही समय हलिउडमा अभिनय गरेका होर्विट्जलाई उनको स्टेज नाम ‘ज्याक अभेरी’को नामले बढी चिनिन्छ । उनले ‘ट्रेसपासर्स र ‘द ह्वाइट क्रो’ जस्ता कम लगानीमा बनेका झण्डै एक दर्जन चलचित्रमा अभिनय गरिसकेका छन् । यसबाहेक उनले ब्राड पिट अभिनित ‘फ्युरी’मा पनि सानो भूमिका निभाएका छन् ।

Loading...